close

इश्मामा परिवारभित्रै काटमारः एक वर्षमै गयाे ४ जनाकाे ज्यान

इश्मामा परिवारभित्रै काटमारः एक वर्षमै गयाे ४ जनाकाे ज्यान

Trulli
ADVERTISEMENT

गुल्मी - जिल्लाको इस्मा गाउँपालिकामा देख्नै नसकिने र सुन्दै अचम्म लाग्ने चार दर्दनाक हत्या भएका छन् । इस्मा गाउँपालिका–१ हस्तीचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको महिना दिन कटेको छैन । 


आइतबार राती इस्मा–४ दोहलीबाँझका २५ वर्षीय अनिल बस्नेतले ६० वर्षका आफ्नै बुबा दिलबहादुरको वीभत्स हत्या गरे । उनले साँझ करिब ७ बजे बुबालाई मरणासन्य हुने गरेर कुटेर घाइते बनाएका थिए । अचेत अवस्थाका दिलबहादुरलाई राती नै एम्बुलेन्समा बुटवल पठाइए पनि बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी केदारराज पन्तले जानकारी दिए ।

 

हत्या आरोपी छोरा बिहानदेखि फरार छन् । उनको खोजी भइरहेको पन्तले बताए । इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको  २१ भदाै,२०७७ मा रातीको समय हत्या भयो । दुई भाइले पसल गर्थे । एउटै पसलमा काम गर्नेमध्येका भाइको वीभत्स हत्या भयो ।

 

अपराधमा संलग्नलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । हत्या किन र कसले गरेको भन्ने विषय अझै अन्योलमै छ । पालिकाभित्र हत्याका घटना बढेपछि स्थानीय साँझ परेपछि मात्रै होइन, दिउँसोमै हिँड्न पनि डर मान्छन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी केदारराज पन्त भने हत्याका घटनामा सूक्ष्म अध्ययन भइरहेको सुनाउँछन् ।  २७ चैत, २०७७ मा इस्मा– २ पालुखाका ४६ वर्षीय टेकबहादुर कुमाललाई आफ्नै छोरा २९ वर्षीय अर्जुनले हत्या गरे । हत्याको मूल कारण घरायसी विवाद थियो ।


कुमाललाई जिल्ला अदालत गुल्मीबाट १० वर्षको जेल सजाय तोकिएको छ । अहिले उनी जिल्ला कारागार गुल्मीमा छन् । यस्तै, हत्या शृंखला गत पुस १७ इस्मा–३ दर्लामचौर तल्लो सिम्पानीमा भएको थियो । ७६ वर्षीया कौशिला विकलाई गहनाको लोभमा दुई बुहारी मिलेर हत्या गरेका थिए ।

 

घटना लुकाउन गोरुले हानेको भनेर गाउँ गुहारे पनि रहस्य खुल्दै गएपछि २८ वर्षीया लक्ष्मी विक र २३ वर्षीया देवी विक प्रहरीको फन्दामा परे । अहिले दुवैले जेल सजाय भोगिरहेका छन् । जिल्लामा १२ स्थानीय तहमध्ये इस्मा गाउँपालिकामा अपराधका घटना बढी देखिएका छन् । एक वर्षको अवधिमै  ४ वीभत्स हत्या इस्मामै भएका छन् । त्यसबाहेक घरेलु हिंसाका घटनाको रेकर्ड पनि इस्माले नै बनाएको छ ।


गत वर्षसम्म बलात्कारका मुद्दा पनि अत्यधिक थिए । आत्महत्या पनि जिल्लाका अन्य स्थानको तुलनामा इस्मामा धेरै छन् । ‘सबै घटनाको प्रमुख कारण घरेलु मदिरा भएकाले नियन्त्रणको कोसिस गरिरहेका छौं । तर, सोचेअनुसारको साथ पाइएन’, गाउँपालिका उपप्रमुख विमला खत्रीले भनिन् । 

 

पूर्वमन्त्री गोकर्ण विष्टले समेत वीभत्स हत्याका घटनाप्रति सहानुभूति प्रकट गरे । प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सबै नाकामा कडाइ गरेर अपराधमा संलग्नलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन निर्देशन दिइएको विष्टले बताएका छन् ।