close

डम्पिङ साइटबाट बदलिएको शंखधर पार्क

डम्पिङ साइटबाट बदलिएको शंखधर पार्क

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको थिमिस्थित शंखधर चोक । उपत्यका बस्ने जोकोहीले सुनेको नाम । अझ सोही बाटो हुँदै कार्यालय आउजाउ गर्नेले चोकलाई राम्ररी नियालेर यात्रा तय गर्छन् । चोकसँगै रहेको डाँडा कुनै समय फोहोरले भरिएको हुन्थ्यो । फोहोरले झार मात्रै होइन, जमिनसमेत भेटाउने अवस्था थिएन । वरपरका स्थानीयले घरबाट निस्कने फोहोर सोही डाँडामा ल्याएर हुइँक्याउँथे । फोहोरमा फैलिएको दुर्गन्धले स्थानीय मात्रै होइन, बटुवासमेत वरिपरि हिँड्दा नाक खुम्च्याउँथे । हिँड्नै परे नाकलाई रुमालले छोपेका देखिन्थे । 


तर, अहिले चोकले जमाना फेरेको छ । सबैले वाह भन्ने गर्छन् । दुर्गन्धको डंगुरको रूपमा परिचित सो क्षेत्रमा यतिबेला हरियाली छाएको छ । डम्पिङ साइट अहिले रमणीय पार्क बनेको छ । हरियाली घाँसले सजिएको छ । अनि, आकर्षक बुट्टेदार कलाले सजिएको छ । आकर्षक ढुंगेधारा, पैदल स्थल, चौर, सिँढी बनेको छ । स्थानीय जनप्रतिनिधि आएसँगै प्राथमिकतामा परेको सो क्षेत्रले अहिले पुनर्जीवन पाएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार २०७५ मा उपभोक्ता समितिमार्फत पार्क निर्माण सुरु गरिएको हो । 

 

उनका अनुसार पार्कले करिब ३३ रोपनी क्षेत्रफल ओगटेको छ । पार्क निर्माणका लागि छिमेकी काठमाडौं महानगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।‘पार्कमा आकर्षक ढुंगेधारा बनाइएको छ, जहाँबाट पानी बग्छ । कलात्मक सिँढी बनाइएको छ,’ उनले भने, ‘हरिया दुबो घाँस रोपेका छौँ । यसले हरियाली कायम भएको छ ।’ ‘पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । अबको केही महिनामा पार्कलाई पूर्ण रूपमा तयार गरिने उनले सुनाए । श्रेष्ठले भने, ‘सरसफाइको लागि एक जना कर्मचारीको व्यवस्थासमेत गरेका छौँ ।’  सरसफाइ कर्मचारीले पार्कलाई दैनिक सफा गर्दै आएका छन् । केही समयपछि स्थायी कर्मचारी नियुक्त गरिने उनले बताए । 

 

स्थानीयको सहभागितामा निर्माण सुरु गरेको पालिकाले उपभोक्ता समिति गठन गरेर पार्कको काम थालेको हो । परम्परागत शैलीमा दाची अपा, चुन सुकीसमेत प्रयोग गरेको उनले सुनाए । ‘पार्क निर्माण गर्न आवश्यक उत्खनन् गरिएको थियो । धेरै जग्गा अतिक्रमण गरिएको थियो । उक्त जग्गा फिर्ता गर्न लगायौँ’, उनले भने, डाँडाबाट वरिपरिका स्थानीय तहलाई सजिलै नियाल्न सकिनेछ ।’  पार्कको केही स्थानमा अहिले पनि फोहोर भएकाले त्यसलाई केही समयपछि विस्थापित गर्ने उनले जानकारी दिए । 

 

वडा नम्बर ४ को घरबाट आउने फोहोरलाई मल बनाउन प्रयोग गरिँदै आएको छ । विष्णुकुण्डस्थित रिकिसी कम्पोस्ट मल प्रालिले स्थानीयका घरको फोहोर संकलन गरी मल बनाउँदै आएको छ । यसले पनि फोहोर व्यवस्थापनका लागि सहज भएको नगरप्रमुख श्रेष्ठले बताए ।