close

जर्बुटामा भरिँदै आन्तरिक यायावर

जर्बुटामा भरिँदै आन्तरिक यायावर

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश पर्यटकीय रूपमा आफैंमा सुन्दर छ । यस क्षेत्रमा परापूर्वकालदेखि नै थुप्रै पर्यटकीय गन्तव्य बनिबनाउन छन् । स्वर्गकी अप्सरा रारा, पानीमाथि धिपधिप ज्वाला बल्ने श्रीस्थान नाभीस्थान, देउरापाटनजस्ता रमणीय र थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थान कर्णालीले पाएको छ । 


आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ हुने यी गन्तव्यबाहेक पछिल्लो समय कर्णाली मुकाम वीरेन्द्रनगर वडा नम्बर १३ मा रहेको जर्बुटाले सबैको ध्यान खिचेको छ । यहाँबाट वीरेन्द्रनगर चियाउन, टिकटक बनाउन र फोटो खिच्न दिनहुँ सयौँको लाम लाग्ने गर्छ । 


केही समय पहिले सुनसान जर्बुटामा जेठ लागेयता आन्तरिक पर्यटकको भीड बढेको छ । वरिपरि हरियाली वातावरण, सुनसान एकान्त ठाउँमा बेलाबेला वहकिएको मनलाई शान्त बनाउन, भर्खरै मुना पलाउँदै गरेका पे्रमिल जोडी र कोरोनाले घरमा बस्दा दिक्क भएकालाई वीरेन्द्रनगरको सुन्दर दृश्यावलोकन गर्ने स्वर्ग नै बनेको छ, यो ठाउँ । 


वीरेन्द्रनगरबाट करिब आधा घन्टामा पुगिन्छ, उक्त ठाउँमा । जर्बुटाबाट कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर भ्यालीको सुन्दर चित्र नजिकबाट देख्न सकिने भएकाले पनि पर्यटकको रोजाइमा परेको स्थानीय बालकृष्ण आचार्य सुनाउँछन् ।

 

‘पहिले फाट्टफुट्ट वीरेन्द्रनगर भ्याली हेर्न आउँथे तर अहिले एकाएक भाइरल भएको छ । दैनिक ४-५ सय आउने गर्छन्,’ आचार्य भन्छन् ।

 

आन्तरिक पर्यटकले ह्वात्तै बढ्यो स्थानीय व्यापारीको आम्दानी 

विकासका दृष्टिकोणले वीरेन्द्रनगरका अरू वडाभन्दा पछि परेको यो ठाउँमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेसँगै होटल सञ्चालनको माग चुलिएको छ ।

 

जर्बुटामा पर्यटक चहलपहल बढेसँगै व्यपारीले मनग्य आम्दानी गर्दै आएका छन् । पहिले आन्तरिक पर्यटकको खासै नजर नपरेका बेला चियानास्ताका लागि होटल सञ्चालन गरेको दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ का देवीराम आचार्य बताउँछन् ।

 

‘पहिले सामान बिक्दैन कि भन्ने डरले ठूलो लगानी गरेर बनाइएन । अहिले आन्तरिक पर्यटक खचाखच भरिन्छन् तर बस्ने ठाउँ छैन,’ उनले सुनाए ।  दैनिक ८/१० हजार रुपैयाँ नगदै कारोबार हुने गरेको उनले बताए ।


२०६७ मा साविकको ५ नम्बर वडादेखि ९ नम्बर वडासम्म प्रत्येक घरबाट स्वैच्छिक रूपमा ५ हजारदेखि ५० हजार रुपैयाँ रकम उठाएर करिब १७ किलोमिटर सडक खनेको स्थानीय बालकृष्ण आचार्य बताउँछन् । 


जर्बुटा निकै सुन्दर र नेपालको दोस्रो नगरकोट भएकाले थुप्रै पर्यटकीय सम्भावना रहे पनि सरकारको आँखा नपुगेको वडा नम्बर ६ का रमेश शाहीले बताए ।