close

कोरोना प्रभावित विपन्नलाई घरगाउँमै रोजगारी

कोरोना प्रभावित विपन्नलाई घरगाउँमै रोजगारी

Trulli
ADVERTISEMENT

सुर्खेत- पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा कोभिड-१९ बाट प्रत्यक्ष प्रभावित गरिब तथा विपन्न घरपरिवारले गाउँमै रोजगारी पाएका छन् । ठाटीकाँध गाउँपालिकाको २५ लाख र युएसएआईडी मर्सिकोरको १५ लाख सहयोग रुपैयाँमा सेवक दैलेखद्वारा सञ्चालित भकारी कार्यक्रममार्फत रोजगारी प्रदान गरिएको हो ।


कामका लागि नगद कार्यक्रमअन्तर्गत वडा नम्बर २ सेरीपाटा र टम्टाल्लाका ११४ घरधुरीलाई रोजगारी दिइएको सेवक दैलेखका अनुगमन तथा मूल्यांकन अधिकृत तेज नेपालीले बताए । 


उनका अनुसार कोभिडको असर परेका तथा बेरोजगारले २१ दिने रोजगारी पाएका छन् । ठाटीकाँध गाउँपालिका र भकारी कार्यक्रमको ४० लाख रुपैयाँ बराबरको लगानीमा खानेपानी योजना निर्माणको काम सम्पन्न हुनेछ ।


रोजगारी पाएकाले सोही खानेपानी योजना निर्माणको काम गर्नेछन । समुदायका काममा जान नसक्ने अपांगता भएका व्यक्ति, सुत्केरी, वृद्धवृद्धा र विभिन्न व्यक्तिलाई निःसर्त रकम हस्तान्तरणको कार्यक्रमसमेत सञ्चालन भएको अधिकृत नेपालीले जानकारी दिए ।


दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका ११४ घरपरिवारले गाउँमै रोजगारी पाएपछि घरखर्च जुटाउन सहज भएको स्थानीय कपिल बोगटी बताउँछन् । उनले भने, ‘कोरोनाबाट प्रभावित भएकालाई यस्तै कार्यक्रम सधैँभरि आइदिए आभारी हुन्थ्यौँ ।’


कार्यक्रम गरिब तथा विपन्न वर्गलाई लक्षित गरी दैलेखको कर्णाली करिडोरमा कार्यान्वयनमा छ । यस्तै, दुल्लु नगरपालिका वडा नम्बर १३ औल भिनाडीमा ७० घरधुरी लाभान्वित हुने गरी ८ लाख रुपैयाँ बराबरको ग्रामीण सडक सुधारको काम सञ्चालन भइरहेको छ ।


उनका अनुसार भैरवी गाउँपालिका वडा नम्बर ५ मिज्माखोलामा ६६ घरपरिवार लाभान्वित हुने गरी ७ लाख १५ हजार रुपैयाँकोे सिँचाइ कुलो निर्माण भइरहेको छ । दीर्घकालीन रूपमा विपद् तथा आपतकालीन अवस्थामा खाद्यान्न उपलब्धतामा सहयोग गर्नुका साथै अप्ठेरो बेला काम गर्दै आएको भकारी कार्यक्रम अन्य समुदायमा पनि सञ्चालन हुने नेपालीको भनाइ छ ।


कामका लागि नगद कार्यक्रमअन्तर्गत गाउँमै रोजगारी पाएकाले कोरोनाका कारण समस्यामा परेका बेला जीविकोपार्जनमा राहत पुग्ने अपेक्षा गरेका छन् ।