close

सम्पत्ति विवरण बुझाउन सरकारले शिक्षकलाई दियो ६० दिने म्याद

सम्पत्ति विवरण बुझाउन सरकारले शिक्षकलाई दियो ६० दिने म्याद

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले देशभरका स्थायी शिक्षकलाई सम्पत्ति विवरण बुझाउन ६० दिने म्याद दिएको छ । १८ असारमा देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताब खाना (शिक्षक) ले यो अवधि दिएको हो । देशभरका स्थायी शिक्षकले अब ६० दिनभित्र आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाइसक्नुपर्ने हुन्छ ।


शिक्षकले तोकिएको ढाँचाबमोजिमको सम्पत्ति विवरण फारम भरी खामबाहिर शिक्षकको संकेत (सिटरोल) नम्बर, नामथर, कार्यरत विद्यालय र ठेगाना, जिल्ला, शिक्षकको तह, श्रेणी, मोबाइल नम्बर र ठेगानासमेत स्पष्ट रूपमा लेखी पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।


आर्थिक वर्ष २०७७/७८ भित्र (अर्थात् १ साउन २०७७ देखि २०७८ असार मसान्तसम्म) सेवा निवृत्त भएका शिक्षकले समेत उपयुत्र्तmअनुसारको सम्पत्ति विवरण बुझाउनुपर्नेछ । अध्ययन बिदा, असाधारण बिदा र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकको सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकाले उनीहरूसमेतले म्यादभित्रै सम्पत्ति विवरण बुझाउनुपर्नेछ । 


संकेत नम्बर नमिलेको, तोकिएको मितिभन्दा पछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभएसरह मानी अभिलेख नराखिने सरकारले जनाएको छ । हुलाकमार्फत तोकिएको अवधिभित्र प्राप्त भएको सम्पत्ति विवरण पीएलएस प्रविष्ट गरी अभिलेख राखिने तर तोकिएको ६० दिनपछि प्राप्त सम्पत्ति विवरणलाई प्राप्त नभएसरह मानी अभिलेख नराखिनेसमेत बताइएको छ ।


सरकारले कोभिड-१९ महामारीका कारणले सरकारले जारी गरेका विभिन्न मितिका निर्देशन र कार्यविधिबमोजिमको मापदण्डअनुसार आउजाउ कठिनाइ र भीडभाडको कुनै पनि कार्यले गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयं (व्यक्तिगत रूपमा) राष्ट्रिय किताबखाना (शिक्षक) जानु नपर्ने गरी विद्यालय/स्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ ।


यस्तै, इकाइहरूले जिल्लाका सबै जिद्यालय शिक्षकको सम्पत्ति विवरण एकमुष्ट गरी १ साउन २०७८ देखि २८ भदौ २०७८ भित्र अनिवार्य राष्ट्रिय किताबखाना (शिक्षक) मा प्राप्त हुने गरी पठाउनुपर्ने व्यवस्था छ । विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा बुझाउनुपर्नेछ र स्थानीय तहले सो विवरण दर्ता गरी सुरक्षित राख्नुपर्नेछ ।


सम्पत्ति विवरण बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परे दर्ता गर्ने प्रयोजनका लागि भोलिपल्टसमेत राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालय खुला रहने सरकारले जनाएको छ ।