close

वडाध्यक्षको लोभलाग्दो ‘पोल्ट्री फार्म’

वडाध्यक्षको लोभलाग्दो ‘पोल्ट्री फार्म’

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष डिल्ली रावलले राजनीतिसँगै कुखुरापालनलाई अगाडि बढाएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका रावलले राजनीति र व्यवसायलाई सँगसँगै हिँडाइरहेका छन् । रावलले राजनीतिसँगै आम्दानी बढाउन कुखुरापालन व्यवसाय गरिरहेका हुन् । उद्यमशीलता, रोजगारी सिर्जना र व्यावसायिकतालाई प्राथमिकता दिने वाचा गरेर वडाध्यक्षमा निर्वाचित भएपछि त्यसको सुरुआत आफैंबाट थालेको उनले बताए ।


युवालाई रोजगारी मिल्ने, आर्थिक आम्दानी पनि हुने उद्देश्यले स्याउ बगैंचा निर्माण, कुखुरापालनलगायत रोजगारीमूलक कार्यमा रावल सक्रिय भएको उनको भनाइ छ । वडाको सार्वजनिक विकाससँगै निजी लगानीमा कुखुरापालन, स्याउ बगैँचा निर्माण र हार्डवेयर पसल सञ्चालन गरेर काम गर्नेलाई प्रेरणा दिएको वडाध्यक्ष रावलको दाबी छ ।


उनले भने, ‘अहिले राजनीतिसँगै व्यवसाय पनि गरिरहेको छु । युवा रोजगारी सिर्जनासँगै स्थानीय उत्पादन बढाउन र जिल्लामै नमुना कृषि क्रान्ति गर्न जुटेको छु । यसले राम्रै प्रतिफल दिने आश छ ।’ संघीयताको महसुस गराउन पनि जनतालाई घरघरमा सेवा पुर्‍याउनु आवश्यक छ’, वडाध्यक्ष रावल भन्छन्, ‘जनताको सेवा गर्न छाडेको छैन ।’

 

व्यवसायमा करोड लगानी

उमेरले ३० वर्ष पुगेका वडाध्यक्ष रावलले करिब १ करोड रुपैयाँ लगानीमा विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । पालिकाकै युवा तथा ऊर्जाशील वडाध्यक्षका रूपमा चिनिने रावलले नाफा कमाउने भन्दा पनि गाउँका बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यले व्यवसाय क्षेत्रमा लगानी गरेको बताए ।


उनले भने, ‘अहिले सुरुआती चरणमै छु । युवालाई रोजगारी दिन सकेको छैज । रोजगारी दिने योजना बनाउँदै छु । अहिले सबै व्यवसाय आफैले नागरिकको सेवाबाहेकको अन्य समय गरिरहेको छु । भविष्यमा आफ्नै निजी व्यवसायमा सयौँलाई रोजगारी दिने लक्ष्य छ ।’


अहिले करिब ४० लाख रुपैयाँ बढीको लगानीमा बृहत् स्याउ बगैँचा निर्माण गरेका छन् । यसमा (स्पर अमेरिकन सुपर चिप्स र रेड चिप्स) जातका ९ सय बिरुवा रोपिएका छन् । घेराबार, सिँचाइ, गडा सुधार मलजललगायत गरी करिब ४० लाख रुपैयाँ लगानीमा बगैँचा निर्माण गरेको अध्यक्ष रावलले सुनाए ।


भर्खरै परीक्षणका लागि १० लाख रुपैयाँको लगानीमा व्यावसायिक लोकल कुखुरापालन गरिएको छ । कञ्चनपुरबाट करिब ७ सय ५० वटा चल्ला ल्याएर गरिएको कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ । गाउँमै प्रतिकेजी ८ सय रुपैयाँमा लोकल कुखुरा बिक्री हुँदै आएको छ ।


करिब ५० लाख रुपैयाँ बढीको लगानीमा रावल हार्डवेयर पसल पनि सञ्चालन गरेका छन् । वडाध्यक्ष रावलले रहेक निर्माण सामग्रीका लागि सदरमुकाम, सुर्खेत, नेपालगन्ज धाउनुपर्ने नागरिकका समस्यालाई लक्षित गरी लिताकोटमा हार्डवेयर सञ्चालन गरेका हुन् ।


नागरिकको सेवाबाहेकको खाली समय वडाध्यक्ष रावल कुखुरालाई दाना खुवाउन तथा बगँैचाको व्यवस्थापनमै व्यस्त देखिन्छन् । ‘उद्यमशीलता, कृषि कर्म आफूले सुरु गरेपछि अरूलाई प्रेरणा मिलोस् भनेर पनि व्यवसायमा खटिएको वडाध्यक्ष रावलको भनाइ ।


उनले थपे, ‘अरूलाई सिकाउने मात्र नभई आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ । आफूले दुःख गर्दा अरूले पनि सिक्छन् । त्यसैले पनि राजनीतिसँगै उद्यमशीलता, व्यावसायिकता, कृषि कर्ममा जुटिरहेको छु ।’ गाउँ विकासका लागि सडक, खानेपानी, भवनभन्दा रोजगारी सिर्जना गर्नुपर्नेमा उनको जोड छ । स्थानीय सरकारका नीति, कार्यक्रम तथा बजेट रोजगार, उद्यमशीलता, व्यवसायिकतामैत्री हुनुपर्ने आवश्यकता उनले औँल्याए ।