close

रूप फेर्दै झापाकाे गरामनी बजार (भिडियो खबर)

रूप फेर्दै झापाकाे गरामनी बजार (भिडियो खबर)

ADVERTISEMENT

झापा- पूर्वमा सबैभन्दा धेरै बजार रहेको जिल्ला हो, झापा । जिल्लाका अधिकांश ठाउँ त्यहाँ रहेका बजारले नै प्रख्यात छन् । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका अधिकांश पूर्वका नेताहरू केही बजारी क्षेत्रका नै छन् । तर, दुःखका साथ भन्नुपर्छ चर्चा कमाएको बजारको अवस्था भने नाजुक छ । विकासको पर्खाइमा बसिरहेका छन् ।

 

बजारले चर्चा कमाएपनि बजारको स्त्तरोन्नति हुन नसक्नु प्रमुख विडम्बना हो । यस्तै, समस्या झेलिरहेको झापाको गरामनी बजार । यो बजार अत्यन्तै चर्चित र पुरानो बजार हो । तर, यो बजार व्यवस्थित र विकसित हुन पनि स्थानीय तहका जनप्रतिनिधि नै आउनु पर्‍यो । अहिले झापाको गरामनी बजार बिर्तामाेड नगरपालिकाकाे पहलमा बौरिँदैछ ।

 

झापामा त्यस्ता केही पुराना बजार छन् जुन देशमा प्रजातन्त्र आउनु अघि देखि नै अस्तित्वमा छन् । पुराना बजारको रूपमा र त्यही बजारबाट ठाउँ पनि चर्चित बनेका छन् । शनिश्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतका बजारहरु २००७ साल अघिका हुन् । यि बजारले प्रजातन्त्र, पञ्चायत, जनमत संग्रह, लोकतन्त्र र गणतन्त्र देखे ।

 

देशमा भएका आमुल परिवर्तन देखेको भएपनि यि बजारलाई भने कसैले देखेन । न त बजारमा भाषण गर्ने नेताले देखे न तिनका कार्यकर्ताले । दशकौँदेखि बजार बसेको भएपनि त्यसको विकास हुन सकेन । चार वर्ष अघि निर्वाचित भएर आएका स्थानीय सरकारका जनप्रतिनिधिले मात्रै यि बजारको दूरावस्था देखे । त्यसमध्येको सबैभन्दा पुरानो गरामनी बजारलाई स्थानीय सरकारले अहिले रुप फेर्न जमर्को गरिरहेका छन् । 


प्रत्येक दशैँको नवमीमा लाग्ने सानो मेला र एकादशीमा लाग्ने ठूलो मेलाले गरामनी बजारको महत्व बढ्ने गर्दछ । त्यतिमात्र होइन शक्ति पिठको रूपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधिकादोले पनि गरामनीको परिचय बोकेको छ । दर्जनौ नेता जन्माएको यो ठाउँ विकास हुन नसकिरहेको अवस्थामा अहिले आएर जनप्रतिनिधिको प्रयासले बल्ल रूप फेर्दैछ ।

 

थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढी व्यापारी अहिले पनि त्रिपाल टाँगेर व्यापार गर्दै छन् । उनीहरूकै लागि भनेर अहिले वडाको पहलमा नगरपालिकाको बजेटमा बजारको सम्पूर्ण भागमा टाली ओछ्याउने काम सुरु भएको छ । 


नगरपालिकाको १५ लाख रुपैयाँ बजेटमा बजार भरि टाली ओछ्याउने काम भइरहेको छ । तर, करिब १८ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ । नपुगेको रकम कहाँबाट जुटाउने भन्ने तनाव पनि उपभोक्ता समितिमा छ । करिब १२ सय वर्ग फिटमा फैलिएको बजार र त्योबीचबाट निकालिएको बाटोको सबैतिर काम भइरहेको छ । 


बजार मात्र होइन दक्षिण झर्ने बाटो पनि स्तरोन्नतिको पर्खाइमा छ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमा व्यवस्थित भइरहेको छ । नजिकैका बाटा, सार्वजनिक भवनको स्तरोन्नति र बजारको व्यवस्थापन हुनेमा पनि स्थानीयले अपेक्षा गरका छन् ।