close

बडिगाड गाउँपालिकावासीले पाए एम्बुलेन्स, छिमेकका गाउँवासीलाई पनि लाभ

बडिगाड गाउँपालिकावासीले पाए एम्बुलेन्स, छिमेकका गाउँवासीलाई पनि लाभ

Trulli
ADVERTISEMENT

बागलुङ – बडिगाड गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत  एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । 

 

भारत सरकारको सहयोगमा बोलेरो जीप प्राप्त भएपछि गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको हो । यसअघि बडिगाडमा ग्वालीचौर आमा समूह र प्रवासमा रहेका युवाहरूको सक्रियतामा दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् ।

 

‘हामीले एम्बुलेन्सका लागि आवश्यक विधि बनाएर स्वास्थ्य शाखामार्फत सञ्चालनमा ल्याउने तयारी थालेका छौँ’, अध्यक्ष पाइजाले भने, ‘यसले गाउँपालिकामा आपतकालीन बिरामीको उद्धारका लागि थप टेवा पुग्नेछ ।’ 

 

भारत सरकारले नेपालका ४१ संघसंस्थालाई एम्बुलेन्स चलाउनका लागि बोलेरो जीप प्रदान गर्ने क्रममा बडिगाडले बोलेरो प्राप्त गरेको हो । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा बोलेरो प्राप्त भएको पाइजाले जानकारी दिए । 

 

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा संक्रमित बोक्दै आएको गाउँपालिकाले आगामी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने अध्यक्ष पाइजाले बताए । भारतीय राजदूतावासबाट प्राप्त भएको बोलेरो जीप आइतबार गाउँपालिकाको केन्द्र ग्वालीचौर पुर्‍याइएको छ । 

 

‘साधन प्राप्त भएको छ, प्रक्रियाका काममा लागेका छौँ’, पाइजाले भने, ‘निःशुल्क होइन, सर्वसुलभ सेवा मात्र दिनसक्यौँ भने बिरामीले सुविधा पाउँछन् ।’ 

 

छिमेकी पालिकाहरूमा एम्बुलेन्स नभएकाले त्यहाँका बिरामीको लागिसमेत सहज हुने गाउँपालिकाले जनाएको छ । बडिगाडको छिमेकमा रहेका ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा एम्बुलेन्स सेवा छैन ।