close

मनाङको नासोंका ५ नम्बर वडाध्यक्ष पुनेलको निधन

मनाङको नासोंका ५ नम्बर वडाध्यक्ष पुनेलको निधन

Trulli
ADVERTISEMENT

लमजुङ– हिमाली जिल्ला मनाङको नासों गाउँपालिका वडा नम्बर ५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । नासों गाउँपालिका प्रवक्तासमेत रहेका ५० वर्षीय पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो ।

 

स्व. पुनेल स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । गत ३१ जेठ रातीदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालय बगाएको थियो ।

हाल पालिकाको आकस्मिक कार्यालय लमजुङको बेँसीसहर सारिएपछि असार पहिलो सातादेखि नै उनी यहाँ बस्दै आएका थिए । गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार आइतबार मात्रै काठमाडौंदेखि फर्किएका पुनेलको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो ।

 

सोमबार बिहान बेँसीसहरस्थित होटलमा हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको थियो ।  उपचारका लागि १० बजेर ५० मिनेटको समय जिल्ला अस्पताल ल्याइएकामा उपचारको क्रममा १२ बजेतिर पुनेलको निधन भएको जिल्ला अस्पताल लमजुङका प्रशासक हेमन्त श्रेष्ठले बताए ।
वडाध्यक्ष पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।