close

ज्येष्ठ नागरिक मिलन चौतारी गठन गर्दै चाँगुनारायण

ज्येष्ठ नागरिक मिलन चौतारी गठन गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले वृद्ध बाआमाका लागि ज्येष्ठ नागरिक मिलन चौतारी गठन गर्दै आएको छ । पालिकाले नगरभित्रका ज्येष्ठ नागरिकको हितका लागि उक्त चौतारी गठन गरेको हो । 

 

पालिकाले प्रत्येक वडामा एउटा चौतारी गठन गरेको छ । यसका लागि आर्थिक वर्ष २०७८/७९ मा प्रतिवडा एक लाखका दरले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

नगरपालिकाले हालसम्म वडा नम्बर १ दुवाकोट, ८ सुडाल र ५ छलिङमा वडा कार्यसमिति गठन गरिएको छ । बाँकी ६ वटामा पनि विस्तारै चौतारी गठन गर्दै जाने योजना नगरपालिकाको छ । 

 

उमेरसँगै हुने एक्लोपना अन्त्यका लागि पालिकाले मिलन केन्द्र गठन गरेको हो । यसले नगरका ज्येष्ठ नागरिकलाई स्वास्थ्य, मानसिक एवं भौतिक रूपमा सबल बनाउनेछ । 

 

वडा नम्बर १ न्यौपाने गाउँको वडा समिति गठन अवसरमा वरिष्ठ साहित्यकार कृष्णमुरारी गौतमले जेष्ठ नागरिक भएको घरमा बालबालिकालाई कुपोषण नहुने, विद्यालयका कक्षाबाट नभाग्ने र आपराधिक क्रियाकलापमा संलग्न नहुने अध्ययनले देखाएको चर्चा गरे । 

 

उनले ज्येष्ठ नागरिक भजनकीर्तनमा मात्र नलागी युवालाई पथ प्रदर्शकको काम गर्न र व्यावसायिक क्रियाकलापमा लाग्न आग्रह गरे । १ नम्बर वडा समितिलाई अक्षय कोषका लागि १ लाख रुपैयाँ दिने घोषणासमेत उनले गरे ।

 

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले ज्येष्ठ नागरिकको हित हुने गरी बजेटमै समावेश गरेर नयाँ कार्यक्रम ल्याइएको बताए । यो कार्यमा मुलुकभरका स्थानीय तहमध्ये चाँगुनारायाण पहिलो भएको दाबी उनको छ । 

प्रत्येक वडा समितिलाई हरेक वर्ष १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाउन लागेको बताउँदै वडा समितिले उक्त बजेट जुनसुकै शीर्षकमा खर्च गर्न सक्ने बताए ।

 

कार्यक्रममा उपप्रमुख बिना बास्तोलाले सहजतापूर्वक जीवनयापन गर्न, समाजमा घुलमिल गर्न र संस्थागत कार्य गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिन् ।ज्येष्ठ नागरिक मिलन चौतारीले शालिकग्राम न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।