close

सम्पदा संरक्षणमा मध्यपुरको उल्लेखनीय काम (भिडियो खबर) 

सम्पदा संरक्षणमा मध्यपुरको उल्लेखनीय काम (भिडियो खबर) 

ADVERTISEMENT

भक्तपुर- भक्तपुर जिल्ला सांस्कृतिक नगरको रूपमा परिचित छ । आफ्नै मौलिक कला, संस्कृति र सम्पदा रहेको भक्तपुरले विश्वभरका पर्यटकको ध्यानाकर्षण गरेको छ । संस्कृति, सम्पदा अनि संस्कारको अवलोकनका वार्षिक लाखौँ पर्यटक नेपाल भित्रिने गरेका छन्  । स्थानीय तहले पनि पर्यटनलाई मुख्य आधार बनाएर सम्पदाको संरक्षणका लागि योजना मात्रै होइन काम समेत गर्दै आएको छ । जसमध्ये मध्यपुर थिमि नगरपालिका एक हो । नगरपालिकाले भूकम्पपछि क्षति पुगेका सम्पदाको पुनर्निमाण गर्दै नयाँ संरचना पनि मौलिक शैलीमा निर्माण गर्ने गरेको छ । 

 

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्ष सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै आएको छ । पालिकाले सम्पदाको पुनर्निर्माणलाई मात्रै नभई अतिक्रमणमा परेको सम्पदाको संरक्षण समेत गर्दै आएको छ । भित्रि नगरमा कालोपत्रे सडकलाई उप्काएर मौलिक शैलीमा ढुंगा छाप्ने काम समेत गरेको छ ।

 

पछिल्लो समय सम्पदा संरक्षणमा सफलता पाएको थिमिले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ‘गन्तव्य थिमि अभियान’ समेत सञ्चालन गरेको छ । मध्यपुरको यही सक्रियता र ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै एशियन टाउनस्केप अवार्डबाट समेत नगरपालिका पुरस्कृत भएको छ । 

 

सम्पदा क्षेत्रको उत्खनन् गरी मौलिक शैलीमा चुन, सुकी र दाची अप्पाको प्रयोग गरी निर्माण भइरहेको छ । नगरपालिकाले हालसम्म २३ वटा मन्दिरमध्ये केहीको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसैगरी ३२ वटा पाटीपौवा, २० वटा इनार, ९ मध्ये ३ वटा विहारको पुनर्निर्माण भइसकेको छ ।

 

लामो समयदेखि खण्डहर बन्दै आएको २५ वटा पोखरीमध्ये १५ वटाको पुनर्निर्माण भइसकेको छ । साथै पालिकाले हालसम्म ११ वटा पार्कमा निर्माण गर्दै आएको छ । जसमध्ये शंकधर पार्क, कुमारी पार्क लगायत ६ वटा पार्कको निर्माण कार्य सम्पन्न भइसकेको छ भने केही अन्तिम चरणमा छन् । यस्तै पुरोना वस्तीमा करिब ८ किलोमिटर सडकमा ढुंगा छापेको छ ।

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार लामोसमयदेखि डम्पिंग साइड र अतिक्रमणका रुपमा रहेको जमिनलाई पालिकाले संरक्षण गर्दै पार्क निर्माण गर्दै आएको हो । सम्पदा निर्माणमा नगरप्रमुख निकै सक्रिय छन् । पालिकाले संम्पदा संरक्षणमा गरेको कामप्रति स्थानीय समेत उत्साहित छन् । कुनै समय व्यक्तिको नाममा अतिक्रमण भएका, फोहोर फाल्ने क्षेत्रको रूपमा रहेका सम्पदा संरक्षण आफ्नो मौलिक पहिचान कायम भएको छ । यसले स्थानीय समेत सक्रिय रुपमा पालिकालाई सहयोग गर्दै आइरहेका छन् । 

 

सम्पदा भनेको सम्पत्ति हो । इतिहास संरक्षण गर्ने दायित्व स्थानीय देखि सरकारको हो । मध्यपुरले यही कुरालाई ध्यानमा राख्दै सम्पदाको पुनर्निर्माणमा विशेष ध्यान दिइरहेको छ । नयाँ संरचना निर्माण गर्दा पनि पुरातन शैलीलाई नै बढी जोड दिनुले सम्पदा संरक्षणमा नगरपालिकाले खेलेको भूमिका सराहनीय छ । र, चार वर्षमा ९० प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएको छ ।