close

चाँगुनारायणका घरगाउँमै सामुदायिक घरबास : पाहुनालाई फर्सीको हलुवादेखि सिस्नुको सुपसम्मको स्वाद

चाँगुनारायणका घरगाउँमै सामुदायिक घरबास : पाहुनालाई फर्सीको हलुवादेखि सिस्नुको सुपसम्मको स्वाद

Trulli
ADVERTISEMENT

भक्तपुर– उमेरले झन्डै चार दशक टेक्नै लागिन्, संगीता तामाङ । उनको दैनिकी घरायसी काममा भ्याई–नभ्याई हुन्छ । सामान्य जीवन बिताइरहेकी उनलाई न पर्यटन, न त होमस्टेबारे जानकारी नै थियो ।

 

जब नगरपालिकाको सहयोगमा होमस्टे तालिममा सहभागी भइन्, तब घरलाई पाहुना राख्ने बनाउने सोचमा पुगेकी छन् । ‘अब होमस्टे सञ्चालन गरी कामसमेत गर्न सक्छु,’ उनले भनिन् । 

 

उनीसँगै सिर्जना तामाङ पनि अब होमस्टे सञ्चालन गर्न अब्बल छन् । माध्यमिक तहको शिक्षा अध्ययन गरेकी उनले होमस्टे सञ्चालनका लागि आतुर रहेको सुनाउँछिन् । ‘अब घरमै पाइने खाद्य सामग्रीबाट पर्यटकलाई कसरी खुसी पार्ने भन्ने कला थाहा भयो,’ उनी भन्छिन् ।

 

नगरपालिकाको सहयोगमा होमस्टे डेभलोपमेन्ट नेटवर्क प्रालिको आयोजनामा तालिम सञ्चालन भएको थियो । वडा नम्बर ४ स्थित सिकाइ केन्द्रमा सञ्चालन भएको तालिम २० जना स्थानीयको सहभागिता थियो । 

 

पालिकाले ८ देखि १७ सम्म होमस्टे (घरबास) अभिमुखीकरण तथा आतिथ्य तालिम सञ्चालन गरेको छ । स्थानीय क्षेत्रको स्रोत–साधन प्रयोग गरी पर्यटकको स्वागत गर्ने र त्यसलाई जीविकोपार्जनको माध्यम बनाउन पालिकाले उक्त तालिम सञ्चालन गरेको हो । 

 

तालिममा होमस्टेका लागि आवश्यक सबै जानकारी पाउन सकिएको सहभागीले बताए । अब चाँगुनारायण सामुदायिक होमस्टे सञ्चालनमा ल्याउने दाबी उनीहरूको छ । 

 

तालिममा स्थानीय स्तरमा पाइने सागको पकौडा, फर्सीको हलुवा, जोगी भाग, तातोपिरो आलु, सिस्नुको सुप, कोदोको सुप, नेवार, मगर, तामाङलगायत विभिन्न समुदायमा पाक्ने परिकारसँग पाहुनाको सत्कारजस्ता विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक बताउँछन् । 

 

प्रशिक्षक राजकुमार लामिछानेले १० दिनको बसाइमा सहभागीलाई तालिम दिएर शौचालयदेखि कोठासम्मको व्यवस्थित गर्न सिकाइएको बताए । ‘हामीले होमस्टे तालिम नामको आधारमा मात्र होइन कामको आधारमा पनि दिएका छौँ’, उनले भने, ‘व्यावसायिक रूपमा प्रयोग गर्न होमस्टे व्यवस्थापन समितिसमेत गठन गरेका छौँ । अबको केही समयपछि सञ्चालनमा आउनेछ ।’ 

 

नगरप्रमुख सोमप्रसाद मिश्रले पालिकाले तालिम मात्रै नभई होमस्टे सञ्चालनका लागिसमेत सहयोग गर्ने प्रतिबद्धता गरे । ‘होमस्टे सञ्चालन गर्न आवश्यक पैसा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउनेछौँ । थप तालिम दिनेछौँ ,’  उनले थपे, ‘तपाईहरूले काम गरेर देखाउनुस्, पर्यटकलाई एक रात यतै अलमलाउन सक्षम हुनुस् । नगरपालिका सहयोगका लागि तयार छ ।’ 

 

उपप्रमुख बिना बास्तोलाले आदिवासी जनजाति उत्थान कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।