close

बिर्तामोडका कृषकलाई कृषि उपकरण प्रदान (भिडियो खबर) 

बिर्तामोडका कृषकलाई कृषि उपकरण प्रदान (भिडियो खबर) 

ADVERTISEMENT

झापा- कृषिलाई व्यावसायिक, प्रतिस्पर्धात्मक एवम् दिगो आर्थिक वृद्धि हाँसिल गरि खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्ने भन्ने कुरा सरकारको हरेक नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको हुन्छ । सोही उद्देश्य अनुसार कृषि क्षेत्रको समग्र विकासका लागि भनेर प्रत्यक वर्ष ठुलो बजेट छुट्याइएको पाईन्छ ।

 

अहिले त स्थानीय तहले नै यसरी रकम छुट्याएर कृषिमा अनुदान दिने बताउने गरेको छ । स्थानीय तहले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउन कृषकलाई कृषि सामग्री वितरण गर्ने गरेका छन् । तर, वितरित सामग्रीको उपयोग भए÷नभएको लेखाजोखा नहुँदा किसान लाभान्वित भएको यकिन तथ्यांक पनि लिन सकिएको छैन । 


बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यावसायिक कृषक तथा कृषक समूहलाई मेसिन औजार, कृषि सामग्री, विषादी एवम् बिउ हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुरुप सामग्री प्रदान गरिएको हो । व्यावसायिक तरकारी उत्पादनमा क्रियाशील ६० जना किसानका लागि १३ लाख ७० हजार रुपैयाँका सामग्री हस्तान्तरण गरिएको छ ।

 

सामाग्री पाएपछि स्थानीय कृषक समेत खुसी भएका छन् । एक लाख ५० हजार रुपैयाँको ६० वटा विषादी छर्कने स्प्रे, एक लाख ७० हजार रुपैंयाँको किटनाशक विषादी, तीन लाख रुपैयामा ६० वटा टनेल बनाउने सिलकोलिन प्लाष्टिक तथा १ सय २५ वटा मल्चिङ सात लाख ५० हजार रुपैयाँमा खरिद गरी किसानलाई प्रदान गरिएको हो ।

 

पालिकाले पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट मेयर ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत चारवटा बोयर जातको बोको कृषक समूहलाई हस्तान्तरण गरिएको छ । ७५ प्रतिशतमा बोयर जातका बोका विभिन्न चारवटा कृषक समूहका लागि प्रदान गरिएको हो ।

 

नगरपालिकाले सहारा नेपाल साकोससँगको साझेदारीमा साइलेज बनाउने एकथान मेसिन (च्यापकटर) पनि किसानलाई हस्तान्तरण गरेको छ । बिर्तामोड वडा नं. ७ स्थित पशुपालक कृषक समूहको २० प्रतिशत लागत साझेदारीमा १० लाख ५० हजार मूल्य बराबरको उक्त मेसिन प्रदान गरिएको हो । बिर्तामोडलाई अर्गानिक साग सब्जी खाने नागरिक बस्ने क्षेत्र बनाउन जनप्रतिनिधि हरसम्भव प्रयास गरिरहेका छन् । 


विभिन्न स्थानीय तहले पछिल्लो समय यस्ता सामग्री वितरणलाई प्राथमिकता दिइरहेका छन् । तर, अनुगमनको अभावमा ति सामग्री सहि ठाउँमा सदुपयोग भएको छ कि छैन भन्नेमा स्थानीय तह नै बेखबर छन् । त्यस  तर्फ पनि विचार पुर्‍याउन जरुरी छ ।