close

मादलुको तालमा कखरा (भिडियाेसहित)

सिक्ने पनि गुरुआमा, सिकाउने पनि गुरुआमा

मादलुको तालमा कखरा (भिडियाेसहित)

सिक्ने पनि गुरुआमा, सिकाउने पनि गुरुआमा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरकी मिथु अवालको दैनिकी मादल बजाएरै बित्ने गरेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रमा काम गर्दै आएकी उनको दैनिकी आजभोलि मादल बजाउँदैमा व्यस्त हुने गरेको हो ।  उनी भन्छिन्, ‘उमेर गएर के भयो ? सिक्नलाई केहीले छेक्दैन ।’

 

घरायसी काम सकाएर दैनिक ११ बजे गोल्मढीस्थित शिशु स्याहार केन्द्र पुग्छिन् अनि मादल लिएर बजाउन थालिहाल्छिन्, उनी ।  भक्तपुरकै नजरमाया बाटीको दैनिकी पनि उस्तै छ । उनले २० वर्षदेखि शिशु स्याहार केन्द्रमा काम गर्दै आएकी छन् । ‘समयसँगै शिशुको माग अनि स्वभाव पनि फरक हुँदो रहेछ । साना नानीबाबुकै लागि मादल बजाउन सिकिरहेकी छु’, उनले भनिन् । 


पहिले अलिअलि सिके पनि राम्ररी बजाउन आउँदैन थियो उनलाई । ‘जसोतसो नानीको मनोरञ्जनका लागि बजाउँथेँ,’ उनी भन्छिन्, ‘अब सिक्न पनि पाएँ । मैले बजाएको मादलले नानीहरू औधी खुसी हुन्छन् ।’ उनीहरूको जस्तै शिशु स्याहारमा काम गर्ने अन्य महिलाको दैनिकी उस्तै छ । बिहान घरायसी काम भ्याएर ११ बजे शिशु स्याहार केन्द्रमा उपस्थित हुन्छन् । केन्द्रको सामान्य सरसफाइपछि मादल बजाउन थाल्छन् । 

 

भक्तपुर नगरपालिकाले निःशुल्क १५ दिने मादल प्रशिक्षणका तालिम सञ्चालन गर्दै आएको छ । आफ्नो स्वामित्वमा शिशु स्याहार केन्द्र सञ्चालन गर्दै आएको पालिकाले केन्द्रमा कार्यरत १२ शिक्षिका तथा १२ जना आया दिदीहरूलाई तालिम दिएको हो । 

 

यस्तो तालिम शिशु स्याहारमा आएका नानीबाबुलाई फकाउन, खुसी बनाउन, खेलाउन प्रयोगमा ल्याइनेछ । पालिकाका अनुसार सुरुमा शिशु स्याहार केन्द्रका महिलालाई तालिम दिए पनि आवश्यकताको आधारमा विद्यालयमा समेत प्रशिक्षण दिन लगाइनेछ । 

 

शिशु स्याहार केन्द्र तथा बाल विकास शाखाका प्रमुख दीपेन्द्र प्रजापतिका अनुसार दैनिक १२ देखि ५ बजेसम्म प्रशिक्षण सञ्चालन हुनेछ । प्रशिक्षार्थीलाई दैनिक २ घन्टा अर्थात् १२ देखि २ बजेसम्म प्रशिक्षकले प्रशिक्षण दिन्छन् भने बाँकी समय स्वाभ्यास गर्दै आएका छन् । 

 

१५ दिने तालिममा मादलको ताल सिकाइँदै छ, जुन तालको आधारमा बालगीत सिकाइने प्रशिक्षक राजकुमार मानन्धर बताउँछन् ।  ‘कार्यवधि छोटो छ । तर, थोरै समय पनि उहाँहरूले धेरै कुरा सिक्नुभएको छ,’ उनले भने, ‘अबको बाँकी दिनमा तालअनुसारको बालगीत भर्न सक्नेछन् । यसले बच्चालाई थप खुसी पार्न सकिनेछ ।’ 

 

मादल तालिम नै किन ?

पालिकाले हाल ६ स्थानमा शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याएको छ । यी केन्द्रमा २४ कर्मचारी कार्यरत छन् भने २४० नानीबाबु भर्ना भएका छन् । शिशु स्याहारमा बच्चालाई पढाउने होइन, स्याहार्ने काम गरिन्छ । उनीहरूलाई स्याहार्न सामान्य व्यक्तिले सक्दैन । त्यसैले पालिकाले केन्द्रमा कार्यरत सबै महिलालाई विभिन्न तालिम दिँदै आएको प्रजापति बताउँछन् । 

 

प्रत्येक केन्द्रमा दुई-दुई वटा मादल छन् । नपुग मादल स्थानीय दाफा भजनबाट संकलन गरी ल्याइएको उनी सुनाउँछन् ।  उनका अनुसार नानीबाबुलाई सानै उमेरदेखि संगीतको थेरापी दिन पालिकाले मादल प्रशिक्षणको महसुस गरेको हो । सानो एवं लोकप्रिय बाजा भएकाले मादलको छनोट र प्रशिक्षणको खोजी गरी प्रशिक्षण सुरु गरिएको नगरपालिकाले बताएको छ । 


‘लकडाउन खुकुलो भए पनि कोरोनाको अन्त्य भएको छैन । यसले नानीबाबुलाई केन्द्रमा ल्याउने अवस्थासमेत छैन,’ उनले भने, ‘फुर्सदको समय केही उपलब्धि हासिल गर्न मादल तालिम ल्याएका हौँ । यसले अन्य स्थानीय तहको विद्यालयमा समेत प्रभाव पारेको छ ।’ आवश्यकताको आधारमा अन्य विद्यालयमा पनि प्रशिक्षण दिइनेछ । सिकेका प्रशिक्षार्थीलाई पछि प्रशिक्षक बनाउने लक्ष्य रहेको उनले सुनाए । 

 

तालिमपछि नानीबाबुलाई मनोरन्जनका साथ कक्षामा उपस्थित गराउने प्रतिबद्धता सहभागीको छ । सुताउने समय मधुर बोली होस् या त बालगीतमा मादलको ताल अनि कक्षामा आकर्षण गर्न सबैका लागि अरू सामग्रीसँगै मादल प्रयोग गर्ने उनीहरू बताउँछन् ।