close

मैले आफ्नो भूमिकाबाट कसैलाई काखा र पाखा गरेको छैन (भिडियो वार्ता) 

मैले आफ्नो भूमिकाबाट कसैलाई काखा र पाखा गरेको छैन (भिडियो वार्ता) 

Trulli
ADVERTISEMENT

धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर बृषबहादुर राई नगरको अभिभावकका नाताले आफुले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउँछन् । कार्यकालको अन्तिम वर्षमा आइपुग्दा उनमा एकखालको सन्तुष्टि देखिन्छ । राईसँग पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानीः 

 

बजेट कसरी र कहिले ल्याउनुभयो ? 

यो आर्थिक वर्षको बजेट विनियोजन भइसकेको छ भने पारित पनि भइसकेको छ । १० गते नगरसभा भयो । नगरसभाले नै बजेट नीति तथा कार्यक्रम पास गर्‍यो । 


जनप्रतिनिधिबीचको आन्तरिक खिचातानी छ, यसमा प्रमुखको हैसियतमा तपाईले भूमिमा निर्वाह गर्नै सक्नु भएन भन्ने छ नि ? 

आन्तरिक महत्वाकांक्षा कसैको धेरै हुन्छ । तर, पनि मेरो दायित्व के हो भन्ने कुरा कसैले बिर्सनुहुँदैन । तर, मानिसले बिर्सने गरेका छन् । त्यसो हुँदा मुल्यांकन गर्नेले कसरी गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । तर, मैले आफ्नो भूमिकाबाट कसैलाई काखा र पाखा गरेको छैन । 


कोरोनाको कुरा गरौं । पालिकामा यसको प्रभाव कस्तो छ । नियन्त्रणमा कस्तो भूमिका खेल्दै हुनुहुन्छ, खोप पनि पाउनु भएको छ, कसरी लगाउँदै हुनुहुन्छ नागरिकलाई ? 

हामीले दुई चरणको खोप लगायौँ । थप खोप लगाउँदैछौँ । पछिल्लो समय कोरोनाले पालिका ग्रसित भयो । योबीचमा हामीले ५ शय्याको अस्पताल बनायाैँ । चिकित्सक, ल्याब टेस्ट, औषधि सबै व्यवस्थापन गरेका छौ । एन्टिजेन परीक्षणहरु वडा वडामा पुगेर गरेका छौँ । पोजेटिभ भएकालाई एम्बुलेन्समा राखेर निःशुल्क अस्पताल पुर्‍याएका छौँ । 


पालिकाले गतवर्ष कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्यायो । पर्याप्त सिमसार भएको नगर पनि हो । पर्यटन र कृषिको दीगो विकासका लागि कस्ता काम गर्नुभयो अहिलेसम्म ? 

पर्यटनमा थुप्रै कार्यक्रम सुरु भएको छ । हामी १ वर्षसम्म हामीसँग केही थिएन । नीति, नियम, भवन बनायौँ । कृषि तथा पर्यटनमा ठूलो काम गर्‍यौँ । ११ करोड लागतमा सीमासर निर्माण गरिरहेका छौँ । कृषिमा हामीले अन्य थुप्रै काम गरेका छौँ । 


तपाईंहरु उद्यमशिलता र स्वरोजगारको कुरा पनि गरिरहनु हुन्छ । तर, पालिकाले असिलेसम्म लगानीसम्वन्धि नीति र कानुन बनाएन, पालिकाभित्रै रोजगारीको अवसर सिर्जनामा किन बिलम्ब भइरहेको छ ? 

हामीले नीति तथा कार्यक्रम बनाएका छौँ । मेड्पासँग सहकार्य गरेर काम गरिरहेका छौँ । हामीले सयौँ युवालाई उद्योग सम्बन्धी तालिम दिएका छौँ । त्यसमा हाम्रो पनि लगानी छ । १ सय २५ जना युवालाई एउटा वडामा तालिम दिएर अघि बढाएका छौँ । लगानीको आधार खोजिरहेका छौँ । उद्योग, व्यवसायीसँग सहकार्य गरिरहेका छौँ । 


अहिलेको बजेटको प्राथमिकता के हुन् ?

यसपालि पनि हामीले नारा बनाएका छौँ । ‘पाख्रिवासको दृष्टि, शिक्षा , स्वास्थ्य, पर्यटन र कृषि’ भनेर अघि बढेका छौँ । सुरक्षित आवास निर्माण ग¥यौँ । धेरैको घरमा हामीले टिनको छाना लगाउने काम गरेका छौँ । ८० प्रतिशत जनाताको घरको छाना फेर्ने गरी योजना बनाएका छौँ । शिक्षा र स्वास्थ्य पनि प्राथमिकतामा परेका छन् । 


तपाईंको कार्यकालको अन्तिम बजेट ल्याउनुभएको छ । घोषणा पत्रको प्रतिबद्धता मात्रै पूरा भए कि जनताको समृद्धिको सपना पनि पूरा भए ? 

चार वर्ष ठूलो समय होइन । देशको राष्ट्रिय राजनीतिले प्रभाव पारेको छ । म गर्वका साथ भन्छु, चार वर्ष भित्र पाख्रिवासभित्र धेरै काम भएका छन् । करिवकरिव दुई अर्बको योजना हामीले चार वर्षभित्र सुरु गरेका छौँ । १ सय वर्षसम्म धान्न सक्ने गरी ३० करोडको लागतमा खानेपानी योजना सुरु गरेका छौँ । यो चार वर्षभित्र स्थानीय सरकारको रुपमा रहँदा ऐतिहासिक काम गरेका छौँ ।