close

बाघेढुंगा सब-स्टेशन सञ्चालनमा, ५ गाउँपालिकामा उज्यालो  

बाघेढुंगा सब-स्टेशन सञ्चालनमा, ५ गाउँपालिकामा उज्यालो  

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको बाघेढुंगास्थित नेपाल विद्युत प्राधिकरणको सव-स्टेशन सञ्चालनमा ल्याइएको छ । केन्द्रीय आयोजना अन्तर्गत निर्माण भएको सब-स्टेशन २० असारदेखि सञ्चालनमा ल्याइएको हो । बाघेढुंगा सव-स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सव-स्टेशन हो ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा सव-स्टेशन जिल्लाकै पहिलो सव-स्टेशन हो । गाईघाट-दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तरगत वर्षौँअघि निर्माण गरिएको सब-स्टेशन चालु आर्थिक वर्षदेखि सुरु गराइएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए ।

 

स्टेशन ट्रान्सफर्मरले लोड दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेपछि बाघेढुंगा सब-स्टेशन सञ्चालनमा ल्याइएको हो । बाघेढुंगा सब-स्टेशनको सिमपानी-लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका तथा साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाको केही गाउँमा विद्युत वितरण हुने प्राधिकरणले जनाएको छ ।

 

यसअघि बुईपा सब-स्टेशनबाट राजापानी फिडर हुँदै यी गाउँपालिकामा विद्युत बल्ने गरेको थियो । बाघेढुंगा सब-स्टेशन सञ्चालनमा आएसँगै अव राजापानी फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेसम्म मात्रै विद्युत प्रसारण हुनेछ । उदयपुरको गाईघाटबाट खोटाङको बुईपा सब-स्टेशनसम्म ३३ केभी प्रसारण लाईन प्रवाह हुने गरेको छ । जिल्लामा विद्युतका करीव १७ हजार ग्राहक छन् ।

 

यता, प्राधिकरणको केन्द्रीय आयोजना अन्तर्गत केपिलासगढी गाउँपालिका-४ बाक्सिलामा निर्माणाधिन सब-स्टेशनको काममा ढिलासुस्ती भएको छ ।

 

समयमा सब-स्टेशन निर्माणको काम नहुँदा सेवाग्राही मारमा परेका छन् । बाक्सिलामा निर्माणाधिन सब-स्टेशनमा सिभिल, कन्ट्रोल रुम, आवास गृह निर्माण भइसकेको तथा धेरैजसो मेसिनरी सामग्री आइसकेको प्रमुख चौधरीले बताए ।