close

सूर्यविनायक नगरपालिकाको चार वर्षे यात्रा (भिडियो खबर)

सूर्यविनायक नगरपालिकाको चार वर्षे यात्रा (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- आगामी वर्षको बजेट ल्याएसँगै अब बाँकी योजना पूरा गर्न र कार्यकालको समीक्षा गर्न थालेका छन् स्थानीय तहका जनप्रतिनिधि  । विकासका लागि पालिकाले के गरे भन्ने लेखाजोखा भइरहँदा भक्तपुरको सूर्यविनायक नगरपालिकाको कामप्रति स्थानीय भने सन्तुष्ट देखिन्छन् । तर, पालिकाबाट भएको भौतिक संरचना निर्माण, सडक कालोपत्रेप्रति नागरिक सन्तुष्ट भएपनि सामाजिक विकासमा कुनै परिवर्तन ल्याउन नसकेको भन्दै आलोचना गरेका छन् ।

 

यो बीचमा सूर्यविनायक नगरपालिकाले उल्लेख्य काम गरेको दावी गरिरहेको छ । जनताले आफ्नै आँगनमा सरकार पाएको चार वर्ष नाघिसकेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ सपना पूरा गर्ने सपनासहित निर्वाचनमा होमिएका जनप्रतिनिधिको कार्य अवधि सकिन लागेको छ । नयाँ स्थानीय तह मानिने भक्तपुरको सूर्यविनायक नगरपालिकाले चार वर्षमा भौतिक विकासमा तीव्रता लिएको छ ।

 

यहाँका अधिकांश कच्ची सडक पालिकाकाले कालोपत्रे गरेको छ । पालिकाका अनुसार हालसम्म ६८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यस्तै, १५ वटा पुलको निर्माण, ३३ करोड लगानीमा नगरपालिका कार्यालय भवन, १० वटै वडाका वडा कार्यालय भवन निर्माण भएका छन् ।

 

खानेपानी समस्याको अन्त्यको लागि १० वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । साथै केही महिनामा एचडियु क्षमता सहित नगर अस्पताल सञ्चालनमा ल्याउने योजना पालिकाले बनाएको छ ।  पर्यटन विकासलाई मुख्य आधार बनाएको पालिकाले पर्यटन क्षेत्रमा योजना पनि बनाएको छ । शिव सर्किट योजना अन्तर्गत १० वटै महादेवका मन्दिरको पुनर्निर्माण गरिएको छ ।

 

वन क्षेत्रको प्रवर्धन गर्नुको साथै घ्याम्पे डाँडामा साइक्लिङ समेत सञ्चालनमा ल्याइएको छ । पालिकाको कार्यप्रति स्थानीय समेत खुशी छन् । पालिकाले स्थानीय क्षेत्रको भौतिक विकासको लागि उल्लेखनीय कार्य गरेको दावी स्थानीयको छ । तर, पालिकाले मानवीय विकासमा ध्यान नदिएको आरोप स्थानीयको छ ।

 

पालिकाले सडक विकास, भवन निर्माण, पुल निर्माणसँगै अन्य योजना सञ्चालनमा ल्याए पनि महिला तथा बालबालिका क्षेत्रको विकास नगरेको गुनासो स्थानीयको छ ।  नगरपालिका स्वयं पनि सामाजिक विकासमा कार्य गर्न नसकेको स्वीकार गर्दै आएको छ । तालिम तथा नेतृत्व विकासको लागि योजना बनाए पनि कार्यान्यवयनमा आउन नसकेको नगरपालिकाको भनाइ छ । 

 

धेरै स्थानीय तहले विकासको अर्थ भनेकै पूर्वाधार निर्माणलाई मानेका छन् । अधिकांश स्थानीय तहले बजेट पनि सोही क्षेत्रका लागि बढी विनियोजन गरेका छन् । तर, स्थानीयको माग पूर्वाधार मात्र नभई अन्य क्षेत्र पनि हुने गर्दछ । यसको मनन गर्न नसक्नु भनेको स्थानीयसँग योजना तर्जुमा गर्दा छलफल नगर्नुको उपज नै हो । त्यसैले अबको अन्तिम कार्यकाल स्थानीय सरकारले स्थानीयको आवश्यकता अनुसार काम गर्न जरुरी छ ।