close

देउवा प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्लामा खुसीयाली

देउवा प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्लामा खुसीयाली

Trulli
ADVERTISEMENT

डडेल्धुरा– कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै गृहजिल्लामा खुसीयाली मनाइएको हो । 

 

जिल्ला सदरमुकाम बागबजारमा भेला भएका नेता÷कार्यकर्ताले कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावादलगायत नारा लगाउँदै बजार परिक्रमा गरे । प्रधानमन्त्री केपी ओलीले ८ जेठमा दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

 

सर्वोच्चले देउवालाई २९ असार बेलुकी ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ । अर्थात्, फैसला आएको २८ घन्टाभित्र राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले ३ साउनमा संसद् बैठक बोलाउनसमेत आदेश दिएको छ ।

 

३१ जेठ २००३ मा डडेल्धुराको साविक असिग्राम गाविस वडा नम्बर ५ र हालको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा जन्मिएका देउवा २०४८ देखि लगातार यहाँबाट जनप्रतिनिधिका रूपमा विजयी हुँदै आएका छन् । देउवा २०४८ देखि २०५६ को संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए ।

 

२०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर क्षेत्र ४ र कैलाली क्षेत्र ६ बाट विजयी भएका थिए । डडेल्धुरामा देउवाले २०७४ मा छैटौँ पटक चुनाव जितेका हुन् ।