close

ठाटीकाँधमा किसानले पाए मौरीका घार

ठाटीकाँधमा किसानले पाए मौरीका घार

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका कृषकलाई मौरीका १९० घार वितरण गरिएको छ । कृषि कार्यालय दैलेख र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा सेरेना जातको १९० घार मौरी वितरण गरिएको हो । 


गाउँपालिकामा मह उत्पादन बढाउन कृषि कार्यालय दैलेखको १५ लाख, गाउँपालिकाको ५ लाख ४२ हजार ९ सय रुपैयाँ लागतमा मौरी घार वितरण गरिएको साझेदारीमा आधारित स्थानीय तह विशेष कार्यक्रमका संयोजक छत्र जोल्मी मगरले बताए । 


उनका अनुसार गाउँपालिकाको वडा नम्बर २ को जौचवरमा २३ वटा, वडा नम्बर ४ मा ८७, वडा नम्बर ३ मा ४८ घार वितरण गरिएको छ भने बाँकी वितरण गर्न बाँकी रहेको उनले बताए ।
 
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरु गरिएको ठाटीकाँध वडा नम्बर ३ का नैनसिंह भण्डारी सुनाउँछन् । ‘मौरीपालनबाट फाइदा हुने रहेछ,’ उनले भने, ‘व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

 

गाउँपालिकाको वडा नम्बर २ को माथिल्लो भेग, ३ को बाहकोट, माचखर्क, खुड्खुडी र ४ को गैरागाउँमा मौरीपालन व्यवसायबाट किसानले लाभ लिन सक्ने भएकाले मौरी वितरण गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । 


‘पालिकाका यी ठाउँमा मौरीपालनको प्रचुर सम्भावना छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर ल्याउनेछौँ । पालिकालाई महमा आत्मनिर्भर बनाउने योजना छ’, उनले भने । 

 

१२ क्विन्टल मह उत्पादन 

दैलेखमा मौरीपालन व्यवसायको सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार जिल्लामा अहिले २५४ कृषकले मौरीपालन व्यवसाय गर्दै आएका छन् ।


‘जिल्लाका मौरीपालक कृषकले यो पेसालाई विस्तार गर्दै लगेका छन्’, उनले भने, ‘अहिले जिल्लामा करिब २५४ मौरीपालक कृषक छन् भने १२२५ वटा घार छन् ।’ 

 

अहिले जिल्लामा ४ वटा पालिकाले मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालन व्यवसाय गर्ने ठाटीकाँध गाउँपालिका, महावु गाउँपालिका वडा नम्बर ६ टाकुरी, भगवतीमाई गाउँपालिका वडा ४, र ६ र डुंगेश्वर गाउँपालिका वडा नम्बर २ र ३ को लाकुरीमा स्थानीय तथा उन्नत जातका मौरीेपालन व्यवसाय गरिँदै आएको छ । जिल्लामा वार्षिक १२.५ क्विन्टल मह उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।