close

ख्वपको पहिचान भाग २ सार्वजनिक

ख्वपको पहिचान भाग २ सार्वजनिक

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाबाट प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ-सामग्री ‘ख्वपको पहिचान भाग २ सार्वजनिक गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले अनलाइन कार्यक्रममार्फत उक्त पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा भक्तपुरको पहिचान, धर्म-संस्कृति, परम्परा, मूल्य-मान्यता तथा व्यक्तित्वको जानकारी समेटिएको छ ।

 

कार्यक्रममा सचिव सुवालले पुस्तकमा समाविष्ट लेखमाथि समीक्षात्मक टिप्पणी गर्दै देशको सन्तुलित विकास योजना लागू गर्न र बसाइँसराइलाई निरुत्साहित गर्न सरकारको पटक-पटक ध्यानाकर्षण गराइँदै आएको बताए ।

 

पुस्तकमा समेटिएका विभिन्न व्यक्तित्वको जीवनी अध्ययनले मानिसलाई आफ्नो परिवारका लागि मात्र काम गर्ने नभई समाज र देशका निम्ति निःस्वार्थ भावले काम गर्नुपर्ने प्रेरणा दिने उनको भनाइ छ ।

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगरले प्रकाशनमा ल्याएको ख्वपको पहिचान भक्तपुरको विषयमा जान्न चाहने सबैका निम्ति उपयोगी पुस्तकको रूपमा रहने विश्वास व्यक्त गरे ।


काठमाडौं, भक्तपुर र ललितपुर आफैंमा स्मार्ट सिटीका रूपमा रहे पनि उपत्यकाको जमिनलाई आधुनिक सहर बनाउने नाममा दसौँ हजार रोपनीको जग्गामा नयाँ सहर बनाउने कार्य विकासको नाममा सम्पदा विनास गर्ने ध्येय भएको उनको आरोप छ । 


भक्तपुर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धनमा निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै आइरहेको बताउँदै उनले विदेशी सहयोगबिना भक्तपुरका सम्पदा संरक्षणमा जनताको आर्थिक र भौतिक सहयोगमार्फत काम अगाडि बढाउँदै आएको जानकारी गराए ।

 
बागिश्वरी माविका पूर्वप्रअ तथा पुस्तकका भाषा सम्पादक ज्ञानसागर प्रजापतिले समग्रमा स्थानीय पाठ्यक्रम भाग २ मा संगृहीत २४ वटा लेखबारे समीक्षात्मक ख्वपको पहिचानले शिक्षकलाई सिर्जनशील बनाउन मद्दत पुर्‍याउने बताए । 
     
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरपालिकाले करिब १ वर्षको अन्तरालमा सन्दर्भ-सामग्री भाग २ प्रकाशन गर्नु सकारात्मक रहेको र स्थानीय पाठ्यक्रमको पठनपाठन अन्य विषयभन्दा नितान्त फरक भएको धारणा राखे । 
    
पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखले भक्तपुरको समग्र इतिहासको उत्खनन् र अभिलेखकीकरण गरेको बताउँदै संयोजक बिजुक्छेले विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन-अनुसन्धानमा पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले शिक्षकको मागअनुरूप यो सन्दर्भ-सामग्री तयार गरिएको बताए ।