close

कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिनेलाई ३ करोड जोखिम भत्ता

कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिनेलाई ३ करोड जोखिम भत्ता

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशमा कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई जोखिम भत्ता दिन ३ करोड रुपैयाँ बढी जोखिम भत्ता दिइने भएको छ । जोखिम भत्ता उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले ३ करोड २७ लाख ८३ हजार ४ सय ८७ रुपैयाँ निकासा गरेको छ ।

 

यसमध्ये प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालकका लागि ३८ लाख ६१ हजार १५२, प्रदेश आयुर्वेद औषधालयलाई ५ लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २ सय, मेहलकुना अस्पताललाई ८ लाख ९३ हजार रुपैयाँ निकासा दिइएको छ ।


त्यस्तै, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, जाजरकोटलाई २३ लाख ५५ हजार २९०, मुगुलाई ३१ लाख १९ हजार ११६, दैलेखलाई ५३ लाख ३८ हजार १८०, रुकुम पश्चिमलाई १७ लाख ८ हजार ७७५, हुम्लालाई ३५ लाख ७ हजार ३ सय र डोल्पालाई १५ लाख ४ हजार ६८० रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए । 
  
यसअघि १६ असारमा कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव वाहन र एम्बुलेन्स चालकलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धित जिल्ला र अस्पताललाई रकम निकासा दिइएको हो ।

 

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना नियन्त्रणमा फ्रन्टलाइनरले गरेको कामको उच्च मूल्यांकन गर्दै सम्मान र प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएको जानकारी दिए ।