close

स्ट्रेचर अभावमा बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

स्ट्रेचर अभावमा बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाका विभिन्न गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा समस्या भएको छ । तातोपानी गाउँपालिका ८ वटा वडामा विभाजित छ । कुनै पनि वडा तथा गाउँबस्तीमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा लैजान समस्या भएको हो ।


तातोपानी गाउँपालिका वडा नम्बर २ डाँगीवाडाकी महिला स्वयंसेविका चन्द्ररुपा नेपालीले भनिन्, ‘अहिले गाउँमा स्ट्रेचर छैन । बिरामी तथा सुत्केरी व्यथा लागेका महिलालाई काठको डोली, स्टे«चरजस्तो बनाएर पछ्यौरा बेरेर स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) लैजाने गरेका छौँ ।’


उनले गाउँमा स्ट्रेचर नभएको २ वर्ष भइसकेको र गाउँपालिकामा माग गर्दा सुनुवाइ नभएको गुनासो गरिन् । तातोपानीमा हाँकु, लाम्रा, तातोपानी र ताम्ती स्वास्थ्य चौकीअन्तर्गत बर्थिङ सेन्टर सञ्चालनमा छन् । लामो समयसम्म गाउँमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य चौकीमा ल्याउन समस्या भोग्नुपरेको हाँकु स्वास्थ्य चौकीका इञ्चार्ज रामबहादुर भण्डारीले बताए ।


‘हाँकु स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा १ वर्षमा ३७ जना गर्भवतीले प्रसूति सेवा लिएका छन्,’ उनले भने, ‘बर्थिङ सेन्टरबाट सुत्केरी आमालाई डिस्चार्ज गर्दा प्रसूति प्रोत्साहन भत्ता पनि उपलब्ध गराएर पठाउनुपर्ने हो । तर, संघ र प्रदेश सरकारबाट रकम समयमै नआउने गरेकाले २÷३ महिनापछि प्रोत्साहन रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ ।’


तातोपानी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य चौकी लैजान समस्या भएको हो ।


‘यस्ता गुनासा गाउँपालिकामा आएपछि स्टे«चर खरिद गरेर स्टोरमा दाखिला गर्ने काम भइरहेकाले असार मसान्तभित्र गाउँबस्तीमा वितरण गर्नेछौँ,’ उनले भने, ‘अहिले ३० वटा स्ट्रेचर खरिद गरिएको छ ।’