close

भाषण जस्तो सजिलो छैन शासन (भिडियो वार्ता) 

भाषण जस्तो सजिलो छैन शासन (भिडियो वार्ता) 

ADVERTISEMENT

कैलालीको जानकी गाउँपालिका अध्यक्ष प्रदीप कुमार चौधरीलाई पालिका बखर बुलेटिनका लागि करिष्मा कार्कीले पालिकाको बजेट कार्यान्वयन, कृषि, पूर्वाधारमा पालिकाले गरेको प्रगतिलगायतका विषयमा गरेको कुराकानी । 

 

पालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेटका प्राथमिकता र नयाँ कार्यक्रमबारे बताइदिनुस् न ।

जानकी गाउँपालिकाको आगामी वर्षका लागि ७९ करोड ३ लाखको बजेट अनुमानित गरेका छौँ । जस अन्तर्गत हाम्रो महत्वकांक्षी योजना पनि छन् । हामीले एकदमै नयाँ प्रयोगका रुपमा ल्याउने प्रयास गरेका छौँ । केही पुरानालाई निरन्तरता दिएका छौँ । यद्यपि, जनतालाई सुविधा र विकासको अनुभूति गराउन नयाँ कार्यक्रम ल्याएका छाैँ ।

 

बिदेशवाट फर्किएका युवाका लागि करार खेतीका लागि प्रोत्साहन गर्ने नीति छ , करार खेती भनेको के हो ? 

करार खेती खासमा अदक्ष जनशक्तिलाई समूह बनाएर आएमा मागको आधारमा योजना र कार्यक्रम दिने हामीले नीति बनाएका छौँ । खासमा स्वरोजगार बनाउने हाम्रो नीति हो । 

 

शिक्षण सिकाइका लागि डिजिटल पाढ्यसामग्री प्रयोगमा ल्याउने भननु भएको छ । यो भनेको विद्यालयमा पठनपाठन हुने पुस्तकको डिजिटल भर्सन भनेको हो कि स्थानीय पाठ्यक्रमलाई डिजिटलाइजेसन गर्ने भन्नु भएको हो या अरु केही ? 

कोरोनाले गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त बन्यो । त्यसैले अब वैकल्पिक विधि अपनाएर शिक्षण सिकाईको कार्य अघि बढाउने योजना बनाएका छौँ । अबको दिनमा प्रविधि मैत्री सिकाइ गर्न खोजेका हौँ । हामीले अडियोमार्फत विद्यार्थीलाई अध्यापन गराउने योजना बनाएका छौँ । जस्तै, हामीले एफएम मार्फत शिक्षण सिकाईको विधिलाई अवलम्बन गरेका छौँ । 

 

अलिकति पूर्वाधार विकासका कुरा गरौं, तपाईहरुले त गाउँ यातायत गुरु योजना नै बनाउनु भएको छ । यसले कसरी काम गरिरहेको छ ? 

हाम्रो गाउँपालिकामा हामी निर्वाचित भएर आएपछि हामीले पहिलो आर्थिक वर्षमा नै यो गुरुयोजना बनायौँ । टीकापुर लम्की सडकखण्ड र सेती लोकमार्ग यो पालिकासँग जोडिएकाले रिङ रोड बनाउने योजना अघि बढाएका हौँ । सरकारको मापदण्डलाई नै पालना गरेर न्यूनतम साढे ६ देखि ५० मिटरको बाटो बनाएका हौँ । 

 

यातायतबाहेक पूर्वाधार निर्माणका अन्य कस्ता क्षेत्र प्राथमिकतामा छन् तपाईंहरुका ? 

चार गाविस बनेर यो पालिका बनेको हो । एउटा प्रशासनिक भवन थियो । अरुको थिएन । त्यसैले हामीले वडा कार्यालय निर्माण गर्ने काम सुरु भएको छ । गाउँपालिकाको भवन अझै शिलान्यास गर्न सकेका छैनौँ । केहीले जग्गा दान गर्नुभएको छ । अब विस्तारै भवन निर्माणतर्फ हामी अघि बढ्छौँ । 

 

कार्यकालको अन्तिम बजेट भएकाले बहुवर्षिय नयाँ योजनामा लगानी नगर्ने भन्ने नीति हो तर तपाईहरुले त यसको पालना गर्नु भएन हैन ? 

 

चक्रपथलाई नियमित गर्नुपर्ने कामलाई अघि बढाउनु पर्नेछ । विद्यालय, भवन निर्माण हामीले हामै्र कार्यकालमा सक्नुपर्छ भन्ने चाहिँ लाग्दैन । 

 

ल्याण्ड पुलिङको नाममा जग्गा अधिग्रहण गर्ने नीति यो वर्ष नै सम्पन्न गर्ने हो र यो त बहुवर्षिय प्रकृतिको देखिन्छ नि ? 

नीतिमा त ल्याएका छौँ । तर, कार्यान्वयन गर्न सकेका छैनौँ । यहाँको राष्ट्रिय गौरवको आयोजना अघि बढाउने भनेपनि सरकारको नियमानुसार भूमि खण्डीकरण रोकिएको छ । हामीले अहिले नै तत्काल नै पूर्ण रूपमा लागु गर्नुपर्छ भन्ने सम्भावना देखिँदैन ।

 

अन्तमा, चार वर्षको अवधि कस्तो रह्यो, चुनावताका जनतामाझ गरेका प्रतिवद्धता कति पुरा गर्नुभयो कति बाँकी छ ? 

हामीले चार वर्षको अवधिमा भने जतिकै दिन सकेका छैनौँ । भाषण गर्नु र कार्यायोजना बनाएर अघि बढ्नु फरक कुरा हो । हामीसँग स्थानीय सरकार सञ्चालन कार्यविधि थिएन, कर्मचारी थिएनन् । केही काम अघि बढाउन सकेनौँ । कोरोनाले केही समय अवरोध खडा गर्‍यो । तर, काम नभएका होइनन् । जनताका न्यूनतम आवश्यकतालाई पूरा गरेका छौँ । नेपालको संविधानतः गरिएको व्यवस्था अनुसार हामीले काम अघि बढाएका छौँ । नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम हामीले अघि बढायौँ ।