close

चाँगुनारायणमा मेयर उद्यमशीलता कर्जा : अभर परेकालाई लाभ

चाँगुनारायणमा मेयर उद्यमशीलता कर्जा : अभर परेकालाई लाभ

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरकी कविता भट्टराईको दैनिकी कोरोना महामारी सुरु भएसँगै परिवर्तन भयो ।सा मान्य परिवारकी उनी निषेधाज्ञा सुरु भएसँगै रोजीरोटी गुम्यो । परिवार चलाउनै धौ–धौ भयो ।

 

निषेधाज्ञा खुलेसँगै आफ्नै व्यवसाय चलाउने निर्णय गरिन् । तर, लगानी थिएन । श्रीमान्लाई होटल चलाउने आइडिया भए पनि लगानी थिएन । उनी भन्छिन्, ‘केही समयपछि चाँगुनारायाण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम ल्याएको थाहा पाएँ र बुझ्न पालिका पुगेँ ।’ 

 

वडा नम्बर ६ नगरकोटमा बस्दै आएकी उनले होटल व्यवसायका लागि सम्भावना देखिन् र ठाउँ छनोट गरी सञ्चालन गर्ने निधो गरिन् ।  होटलको नाम राखिन्, हाइट हाउस खाजा घर । ‘लगानीका लागि पैसा थिएन । अब त्यो पनि पाएँ,’ उनले भनिन् ।

 

पहिलो ऋणीको रूपमा उनले मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत ३ लाख रुपैयाँ ऋण पाएकी हुन् । उनीसँगै अब अरू २६२ जना उद्यमीले व्यवसायका लागि बिनाकर्जा ३ लाख रुपैयाँ ऋण पाउने भएका छन् ।

 

चाँगुनारायणले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैयाँ बिना धितो निब्र्याज ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । नगरपालिकाद्वारा सिफारिस भएका अन्य उद्यमीलाई साउनदेखि ऋण दिने प्रक्रिया सुरु हुुने मिश्रले बताए ।

 

सोहीअनुसार पहिलो लाभग्राहीको रूपमा खाजा घरका सञ्चालकसँग सम्झौता भई कार्यान्वयन सुरु गरिएको उनले बताए । सम्झौताअनुसार लाभग्राहीले ५ वर्षमा उक्त रकम चुक्ता गर्नुपर्नेछ । 

 

कर्जाका लागि पालिकाले नेपाल बैंकसँग सम्झौता गरेको थियो । सोहीअनुरूप बैकले उक्त कर्जा वितरण गरको हो । पालिकाले महिला उद्यम, दलित र पिछडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी ५ वटा क्षेत्रमा उद्यमी बन्न चाहनेलाई छनोट गरेको थियो । 


बैंकका शाखा प्रबन्धक विष्णुमान भैलका अनुसार सो कार्यक्रमका लागि नेपाल बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनेछ । 
ब्याजमध्ये ऋणको विषयवस्तु अनुसार ५ वा ६ प्रतिशत सरकार र बैंकको अनुदानबाट बेहोर्ने अनि बढीमा २ दशमलव ९८ प्रतिशत नगरपालिकाले बेहोर्ने गरी कार्यविधि तयार गरिएको छ ।

 

समयावधिभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरे नगरपालिकाले कालो सूचीमा समावेश हुनेछन् । नगरका अन्य सेवा–सुविधामा रोक लगाइने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारबाही गर्ने प्रावधान छ ।

 

कार्यक्रमका लागि आवेदन दिने १ हजार १ सय २१ जनाले निवेदन दिएका थिए । तीमध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३ सय ९० जनालाई उद्यमशीलता तालिमका लागि छनोट गरेको छ । उनीहरूलाई नेपाल इन्जिनियरिङ कलेजमा तालिमसमेत दिएको थियो । 

 

तालिममा सहभागीमध्ये २ सय ९२ जनालाई छनोट गरी नगरपालिकाले ऋण प्रक्रियाका लागि नामावली नेपाल बैंकमा पठाएको थियो । तर, ३० जना सम्पर्कमा नआएको भैलले बताए । 

 

पालिकाले आगामी आर्थिक वर्षमा पनि सो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।