close

स्कुल खोल्यो प्रहरीले समाउँछ, भर्चुअल कक्षा चलाउनै सकस 

स्कुल खोल्यो प्रहरीले समाउँछ, भर्चुअल कक्षा चलाउनै सकस 

Trulli
ADVERTISEMENT

बागलुङ– जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत सातादेखि नै वैकल्पिक सिकाइबाट कक्षा चलाउन विद्यालयलाई निर्देशन दिएको छ । 

 

वैकल्पिकभित्र भर्चुअल कक्षा मात्र चलाउन सक्ने प्रावधान राखिएको छ । कोरोनाका कारण विद्यार्थीलाई कक्षाकोठामा राखेर पढाउन पूर्ण प्रतिबन्ध लगाइएपछि शिक्षक अन्योलमा छन् । उनीहरूले कसरी कक्षा चलाउने भन्ने सोच्न सकेका छैनन् । 

 

विद्यालयमा २ सिफ्ट गर्ने, आधा–आधा विद्यार्थी बोलाएर पढाउनेजस्ता प्रक्रिया थाल्न खोज्दा प्रशासन र प्रहरीबाट अवरोध भएको शिक्षकको गुनासो छ ।

 

‘वैकल्पिक शिक्षा भनेको भर्चुअल कक्षा मात्रै हो भन्ने धारणा राखेजस्तो देखियो,’ धिमिकरिना माविका प्रअ रतन थापाले भने, ‘सामाजिक दूरी कायम गरेर पढाउन खोज्दा प्रशासनले रोक्यो ।’ 

 

थापालाई प्रहरीले नियन्त्रणमा लिएर कक्षा नचलाउनसमेत भनेको अभिभावकले बताए । ग्रामीण क्षेत्रमा अधिकांश अभिभावकले स्मार्ट फोन चलाउन नसक्ने र शिक्षकको समेत ल्यापटप नभएकाले भर्चुअल कक्षा प्रभावकारी नहुने शिक्षकहरू बताउँछन् । 

 

‘विपन्न परिवारमा स्मार्ट फोन पनि छैन । कसरी सबैलाई समान व्यवहार गर्न सकिन्छ ?’ गलकोटस्थित शिव माविका प्रअ हरि चालिसेले भने, ‘यो वर्ष कक्षा सुरु गर्न सकिएको छैन ।’

 

गत वर्ष भने यो विद्यालयले टोल–टोलमा कक्षा चलाएको थियो । यो बर्ष अझै अन्योल भएकाले कक्षा चलाउने काम चुनौती भएको त्रिभुवन माविबका प्रअ ढालमणि भण्डारीले बताए ।

 

‘हामीले टोल सिकाइ नै गर्नुपर्छ भनेर पाठ्यक्रम बनाउँदै छौँ,’ भण्डारीले भने, ‘साउन पहिलो साताबाट सुरु गर्नुपर्छ ।’ प्रशासनले भर्चुअल भने पनि सम्भव नहुने उनको धारणा छ । 

 

मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र टोल–टोलमा सानो समूहमा पढाउँदा बालबालिकाले सिक्ने एवं कोरोना संक्रमणबाट पनि बचाउन सकिने उनले सुनाए ।


 
प्रजिअ शिवकुमार कार्कीले भने कोरोनाका संक्रमित धेरै भएकाले भर्चुअल पढाइ गर्न भनिएको जानकारी दिए । भीड गर्दा जोखिम हुने उनको भनाइ छ । 


अधिकांश ग्रामीण तहमा पटक–पटक विद्युत् एवं इन्टरनेटको नेटवर्क नहुने र अभिभावकसँग स्मार्ट फोन नभएको अवस्थामा बालबालिकामै विभेदको अवस्था सिर्जना हुने, पढाइबाट विद्यार्थी छुट्ने खतरा बढेको शिक्षकले टिप्पणी गरेका छन् ।


प्रशासनको आदेश र स्थानीय बाध्यताले बालबालिकाले पढ्ने अवसर नपाएको भण्डारीले गुनासो गरे । ‘पोहोर साल राम्रो सिकाइ भए पनि यो वर्ष टोल सिकाइ ढिला भइसक्यो,’ भण्डारीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर पढाउनैपर्छ ।’


माथिल्लो कक्षामा भर्चुअल विधि उपयोगी भए पनि बालबालिकालाई भने गाह्रो हुने उनको अनुभव छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्दा राम्रो हुने सुझाएको जानकारी दिए ।

 

‘बैठकमा पनि मैले सानो समूह बनाउने, टोल–टोलमा पढाउने भनेको छु,’ उपाध्यायले भने, ‘शिक्षक साथीहरूको पनि यस्तै सुझाव आएको छ ।’ ग्रामीण तहका प्राथमिक कक्षा सानो समूहमा कक्षाकोठामै पढाउन सकिने उनले बताए । अधिकांश प्राविमा १५ देखि २० तथा केहीमा मात्रै ५० जनासम्म बालबालिका छन् । उनीहरूलाई पढाउँदा सानो समूह हुने भएकाले समस्या नपर्ने उनको भनाइ छ । 

 

उपाध्यायले धेरैजसो विद्यालयमा भर्चुअल विधि सुरु भएको बताए पनि अधिकांशमा नभएको शिक्षककै टिप्पणी छ । पश्चिम बागलुङका धेरै क्षेत्रमा विद्युत् सेवासमेत अभाव छ । सदरमुकाममा पनि पटक–पटक विद्युत् अवरुद्ध भएर कक्षा चलाउन नसकेको प्रअहरूले गुनासो गरे । 


‘कतिपय बालबालिका निषेधाज्ञामा गाउँ गएका छन् । अझै फर्केका छैनन् । तिनलाई सिकाइबारे बताउन पनि सकिएको छैन,’ विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले भने, ‘बजारको विद्यालय भने पनि अधिकांश विद्यार्थी मजदुर र गाउँ तहका गरिब किसानका छोराछोरी छन् ।’ उनीहरूले भर्चुअल कक्षा लिन नसक्ने ढकाल बताउँछन् ।