close

जुम्लाको तातोपानी गाउँपालिकाले ल्यायो ४१ करोड २७ लाखको बजेट 

जुम्लाको तातोपानी गाउँपालिकाले ल्यायो ४१ करोड २७ लाखको बजेट 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले निर्धारित समयभन्दा धेरै ढिला बजेट ल्याएको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विवादका कारणले निर्धारित समयमा बजेट ल्याउन नसकेको हो । ३० असारमा बसेको गाउँसभाबाट तातोपानीले करिब ४१ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

 

वडाका आधारभूत विकासलाई प्राथमिकता दिँदै ढिलो भए पनि प्रभावकारी बजेट ल्याएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।उनका अनुसार धेरै सेवा-सुविधालाई कटौती गर्दै विगतको तुलनमा पुँजीगत बजेटका आकार भने बढाइएको छ । 


प्रस्तुत बजेटमा कर्मचारी तथा जनप्रतिनिधिका धेरै सेवा-सुविधा कटौती भएका छन् । यसले कर्मचारीमा निराशा देखिएको प्रमुख प्रशासकीय अधिकृत धितालले उल्लेख गरे । आर्थिक वर्ष २०७८/८९ का लागि विनियोजन ४१ करोड २७ लाख रुपैयाँ बजेट सबै वडामा समेत ३० असारमै बाँडफाँट भइसकेको छ ।


कुल विनियोजित बजेटमध्ये चालूतर्फ ६ करोड ७५ लाख ७६ हजार रुपैयाँ छ । पुँजीगत बजेट ससर्ततर्फ १८ करोड ७० लाख ४४ हजार, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड रुपैयाँ छ । यस्तै, विषयगत शाखालाई २ करोड ३ लाख ७६ हजार, परामर्शतर्फ ३ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 


जनतासँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रममा बजेट भागबन्डा नमिल्दा लामो समयसम्म रोकिएको बजेट आएपछि वडा स्तरमा आवश्यकताअनुसार विनियोजन भएको छ । जनतासँग अध्यक्ष कार्यक्रममा ८० लाख र जनतासँग उपाध्यक्ष कार्यक्रममा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । अध्यक्ष/उपाध्यक्षले १/१ करोड रुपैयाँ माग गरेपछि बजेट रोकिएको थियो ।


वडा नम्बर १ लाई ६० लाख, वडा नम्बर २ लाई ६० लाख, ३ लाई ६५ लाख, ४ लाई ८४ लाख, ५ लाई ६५ लाख, ६ लाई ६५ लाख, ७ लाई ८४ लाख र वडा नम्बर ८ लाई ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै, एक घर एक फिल्टर, विपन्नको निःशुल्क स्वास्थ्य बिमा, एक घर एक हिलट्ंयाक, एक घर एक चुलो, प्रत्येक वडा कार्यालय व्यवस्थापनलगायत कार्यक्रमलाई तातोपानीले प्राथमिकता दिएको पालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए ।


तातोपानीका अध्यक्ष नवराज न्यौपानेका अनुसार निर्धारित समयभन्दा केही ढिला आए पनि बजेट जनमुखी रहेको छ । अन्तिम कार्यकालमा थोरै तर नमुना खालका काम जाने योजनामा रहेको उनको भनाइ छ । विपन्न, गरिब नागरिकको प्रत्यक्ष जीवन सुधार हुने, आर्थिक आम्दानी तथा रोजगारीमूलक कामका लागि जनतासँग अध्यक्ष कार्यक्रमको बजेट खर्चिनेसमेत अध्यक्ष न्यौपानेले बताए ।