close

बेँसीसहरबाट पुरस्कृत भए उत्कृष्ट किसान

बेँसीसहरबाट पुरस्कृत भए उत्कृष्ट किसान

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कार’ कार्यक्रमबाट २० किसानलाई सम्मान तथा पुरस्कृत गरेको हो । 

 

नगरपालिकाको कृषि शाखा र पशुपक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेतीतर्फ ९, बाख्रापालनतर्फ ५, भैँसीपालनतर्फ ३, घुम्ती गोठ भेडापालन, सुँगुरपालन र मौरीपालनमा १÷१ जना किसान पुरस्कृत भएका छन् ।


पुरस्कृत हुनेमा तरकारी खेतीतर्फ वडा नम्बर १ नयाँगाउँका चित्रजंग गुरुङ, वडा नम्बर २ का सोमराज थापा, वडा नम्बर ८ का मायादेवी दनाई, वडा नम्बर १० का रामचन्द्र गुरुङ, दीपक गुरुङ, टम्बरबहादुर गुरुङ, हरि भण्डारी, वडा नम्बर ६ का प्रकाश थापा र वडा नम्बर ९ का विनिता खत्री रहेका छन् ।

 

त्यसैगरी बाख्रापालनतर्फ सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर ५ नाल्माकी माया गुरुङ, वडा नम्बर १० कुप्लिङका वेनबहादुर गुरुङ, साधुका आशबहादुर तामाङ, वडा नम्बर ११ कार्कीडाँडाका विजय सिलवाल र वडा नम्बर १ उदिपुरका रोशन पन्त छन् ।

 

त्यसैगरी भैँसीपालनतर्फ सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर ७ भलुवाटारका निरज पौडेल, बन्थोकका तीर्थबहादुर बस्नेत र वडा नम्बर ६ चनौटेका रामकाजी रावत छन् । यस्तै, घुम्ती गोठ भेडापालनतर्फ वडा नम्बर १० पाग्रेक्युका दिनेश गुरुङ र लोकल सुँगुरपालनतर्फ वडा नम्बर २ नरुवाल पाखाथोक कायमबहादुर आले रहेका छन् ।


सम्मानितलाई सम्मानपत्र र जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।  कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत जनार्दन अधिकारीले छनोटमा परेका किसानलाई नगदसहित सम्मान गरेका थिए ।


कार्यक्रममा नगरप्रमुख अर्यालले सीमित साधन-स्रोतका बाबजुद नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा नतिजा देखिने गरी काम गर्दै आएको बताए । प्रमुख अर्यालले जुन क्षेत्रमा लागे पनि व्यावसायिक रूपमा लाग्नुपर्ने भएकाले किसानको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरिएको जानकारी दिए । उपप्रमुख अधिकारीले रकम सानो भए पनि नगरभित्रका उत्कृष्ट किसानलाई गरिएको सम्मानले व्यवसायमा थप सफलता हासिल हुने विश्वास व्यक्त गरिन् ।