close

लोपोन्मुख राउटे जातिलाई मूल प्रवाहीकरणमा ल्याइने

लोपोन्मुख राउटे जातिलाई मूल प्रवाहीकरणमा ल्याइने

Trulli
ADVERTISEMENT

सुर्खेत- नेपालको एक मात्र घुमन्ते समुदाय राउटे जातिका लागि कर्णाली प्रदेश सरकारले राउटे नीति तयार पारेको छ । नेपाललाई विश्व जगत्मा चिनाउन र सांस्कृतिक विविधता झल्काउन महत्त्वपूर्ण भूमिका खेलेका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको उक्त समुदायको मूल प्रवाहीकरणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटे नीति तयार गरेको हो ।

 

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख समुदायको संरक्षणको दायित्व राज्यको भएकाले त्यसतर्फ मन्त्रालय केन्द्रित भएको बताए । पछिल्लो समय राउटे युवतीमाथि भएको बलात्कारको घटनाले राउटे समुदायमाथि नै सुरक्षाको आवश्यकता खड्किएको उनको बुझाइ छ ।


‘राज्यको अति लोपोन्मुख राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखेपछि एकीकृत नीति तयार पारेका छौँ’, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रम समावेश छन् ।’

 

उक्त नीतिमा जंगलमा समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपिबद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउनेलगायत विषय समेटिएको सचिव काप्रीले बताए । 

 

यस्तै, समुदायको सदस्यको मृत्यु भए तत्कालै बस्ती सर्ने र त्यो ठाउँ १० वर्षसम्म फर्केर नआउने राउटे समुदायलाई स्थायी बस्ती बसाउने नीतिमा उल्लेख छ । उमेर पुगेका राउटे समुदायका नागरिकलाई तत्कालै नागरिकता वितरण गरिनेछ । नीतिमा राउटे समुदायको मूल प्रवाहीकरणका लागि सामाजिक विकासमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठनको प्रस्ताव गरिएको छ ।


निर्देशक समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ भने सामाजिक विकास महाशाखा प्रमुख सदस्यसचिव रहने उल्लेख छ । 


निर्देशक समितिलाई राउटे समुदायको मूल प्रवाहीकरणका लागि मार्ग निर्देशन गर्ने, आन्तरिक तथा बाह्य समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्था गर्ने, राउटे समुदायसम्बन्धी भएका कार्यको अनुगमन गर्नेलगायत छन् ।  राउटे नीतिका विषयमा मन्त्रालयले प्रदेशको सामाजिक विकास समिति र प्रदेश योजना आयोगसँग छलफलसमेत गरिसकेको छ ।


राउटे दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ, सल्यान, कालीकोट आसपासका जंगल छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । आदिवासी जनजाति प्रतिष्ठान तथा नेपालको जनगणना २०११ अनुसार राउटे समुदाय मेचे, राजी, लेप्चा, कुशवडिया, हायु, किसान, कुसुन्डा, वनकरिया तथा सुरेलसहितका १० लोपोन्मुख आदिवासीमा पर्छन् ।