close

कृषि र सडकले पालिकाको मुहार फेर्छौँ (भिडियो वार्ता)

कृषि र सडकले पालिकाको मुहार फेर्छौँ (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठसँग पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले आगामी आर्थिक वर्षको बजेट र यसको कार्यान्वयन, पालिकाले चार वर्षमा हासिल गरेको उपलब्धिलगायका विषयमा गरेको कुराकानी :

 

आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटका प्राथमिकता के के छन् ? 

हामीले मेलुङ गाउँपालिकालाई सुखी नेपाली, समृद्ध नेपाल अभियानसँग जोडेका छौँ । हामी निर्वाचित भएर आएसँगै हामीले पालिकास्तरको योजना अन्तर्गतका सडक, सिँचाईलाई सम्पन्न गरेका छौँ । हामीले जाहेर गरेको प्रतिबद्धता अनुसार हामीले काम अघि बढाएका छौँ । उर्बर भूमि भएकाले पनि हामीले कृषिमा जोड दिएका छौँ । तर, सडक सञ्जाल थिएन, हामीले सडक सञ्जाललाई पहिलो प्राथमिकता राखेर काम गर्‍यौँ । 


बजेटमार्फत कृषि र पूर्वाधारलाई प्राथमिकता दिने भन्नु भएको छ यसका लागि कस्ता कार्यक्रममा कति बजेट छुट्याउनु भएको छ?

हामीले गत वर्ष पनि ८ करोड भन्दा बढी पूर्वाधार निर्माणमा खर्च गर्‍यौँ । कृषि क्षेत्रमा तीन करोड भन्दा बढी बजेट विनियोजन गर्‍यौँ । हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, न्यानो कपडा वितरण गर्ने, सुत्केरी पोषण कार्यक्रम, काजकिरिया खर्च बापत ५ हजार दियौँ । यो वर्ष हामीले विपद्मा परेका घरलाई आवास कार्यक्रम ल्याउने योजना  बनाएका छौँ । 


पालिकाले यसवर्ष घाँस र फलफुलका विरुवा बितरणमा चासो देखाइरहेको छ, हालसम्म कति कृषकले पालिकाको अनुदानवाट लाभ लिए, उनीहरुको जीवनस्तरमा कस्तो सुधार भएको छ ? 

अहिले सुधार भइरहेको छ । मेलुङ कृषि प्रवद्र्धन आयोजना भनेर  २१ समूह बनाएर दुई दुई लाख दिएर हामीले तरकारी, फलफूल उत्पादन गरेका छौँ । हामीले एभोकाडोको बिरुवा वृक्षरोपण गरेका छौँ । स्याउको बिरुवा रोपेका छौँ । किविहरु उत्पादन गर्ने योजना बनाएका छौँ । 


कोरोनाले पालिकामा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने पाठ सिकाएको छ । कोभिड अस्थायी अस्पताल त भयो तर जनतालाई दीर्घकालीन स्वास्थ्य सेवा दिनेवारे के सोचिरहनु भएको छ ? 

अहिले हामीले वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीलाई बनाइरहेका छौा । आर्युवेदिक अस्पताल, आधारभूत अस्पताल पनि निर्माण गरिरहेका छौँ । डाँडाखर्क स्वास्थ्य चौकी भवन मर्मत गरेका छौँ । २४ घण्टे सुत्केरी सेवा कार्यक्रम सुरु गरेका छौँ । 


चारवर्षको अवधिमा पालिकाहरुले पूर्वाधारमा लगानी गरे, कृषिक्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईहरुकहाँ पनि देखियो । तपाईहरु चे किन पछि पर्नुभयो ? 

प्रधानमन्त्री रोजगार कार्यक्रम हामीले अघि बढाएका छौँ । तीन महिनामा ५ सय जनालाई रोजगारी दिएका छौँ । आउँदो वर्षको कार्यक्रममा हामीले विदेशबाट फर्किएका युवालाई व्यवस्थापन गर्ने योजना बनाएका छौा । व्यावसायिक कार्यक्रम ल्याउने योजना बनाएका छौँ । बंगुर पालन कार्यक्रम, प्राविधिक तालिम दिएर भएपनि युवालाई रोजगारी दिने योजना बुनेका छौँ । 


अन्तमा एकवर्ष अवधि बाँकी छ  यो वर्षलाई यादगार बनाउन कस्ता नयाँ काम हुँदैछन् पालिकामा बताइदिनुस् न ? 

चार वर्षमा हामीले हात हालेका योजनालाई पूरा गर्ने योजना बनाएका छौँ । मठमन्दिर, स्वास्थ्य चौकी भवन, कार्यालयको भवन, वडास्तरीय कार्यालयको भवन निर्माणलाई प्राथमिकता दिएका छौँ ।। स्मार्ट मेलुङ, स्मार्ट वडा बनाउने गरी कार्यक्रम अघि बढाएका छौँ । दुई हप्ताभित्र हामीले नीति तथा कार्यक्रमलाई अघि बढाउँछौँ ।