close

गबारोले मकैबाली स्वाहा, गाउँको सरकार बेखबर 

गबारोले मकैबाली स्वाहा, गाउँको सरकार बेखबर 

Trulli
ADVERTISEMENT

दैलेख- बारीमा लगाइएको मकैबाली गबारो किराले नष्ट गर्न थालेपछि दैलेखका किसान चपेटामा परेका छन् ।  दैलेखको ठाटीकाँध गाउँपालिकालगायत अन्य पालिकामा गबारोले मकैबाली नष्ट गर्न थालेपछि त्यहाँका किसान चिन्तित भएका हुन् ।


कोरोना संक्रमितले लिएको सातो फर्कन नपाउँदै गबारो किराले मकै नष्ट गर्न थालेको हो । यसअघि पालिका खबरमा फौजी किराले खायो मकैबारी, भोकमरी निम्तिने त्रास समाचार छापिँदासमेत किरा नियन्त्रणमा कसैको ध्यान जान सकेको छैन । 


मकै उमे्रर दोस्रो पटक गोडमेल गरिसकेपछि बाली छोड्न लागेको मकैबालीमा गबारोले मकैका डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का कृषक दम थापाले बताए । 


ठाटीकाँध वडा नम्बर २ मा करिब ४ सय रोपनीमा लगाइएको मकैबाली फौजी किराले नष्ट गर्न थालेपछि मारमा परेको अर्का किसान कमल थापा बताउँछन् । ‘खेती लगाएका किसान कोरोनाले बिस्तरामा थलिएर उठ्न नपाउँदै बारीमा मकै किराले खाएको छ । यो वर्ष खाद्यान्नको पनि संकट हुने भयो’, कृषक थापाले भने । 


गबारो नष्ट गर्न स्प्यानोसेड विषादी जिल्लामा उपलब्ध नभएको कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । उनले भने, ‘अहिले किरा नियन्त्रणका लागि कृषि विकास कार्यालयसँग कुनै विषादी छैन । भए सिफारिस गरिदिने हो ।’


गाउँपालिका अध्यक्ष धीरबहादुर शाही भने मकैबालीमा गबारो लागेको विषयबारे जानकारी नभएको बताउँछन् । ‘पहिले गाइँगुइँ सुनेको हो । यो विषयमा तत्काल कृषि शाखामा बुझ्न लगाउँछु,’ उनले भने ।