close

सोरुले ल्यायो ४० करोड बढीको बजेट 

सोरुले ल्यायो ४० करोड बढीको बजेट 

Trulli
ADVERTISEMENT

मुगु- मुगुको सोरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४० करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । प्रमुख अतिथि विवादले हुन नसकेको गाउँसभा बिहीबार उद्घाटन र बन्दसत्र गरी सम्पन्न भएको हो । 


गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४० करोड ३४ लाख १२ हजार ७ सय ९६ रुपैयाँको बजेट ल्याएको हो । प्रदेश समानीकरण अनुदानबाट १ करोेड ४१ लाख रुपैयाँ अनुमानित बजेट रहेको गाउँपालिकाका सूचना अधिकारी प्रकाश मल्लले बताए । 


गाउँपालिकाले केन्द्रको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु शाखालगायतलाई १९ करोड र प्रदेश सरकारको ससर्त अनुदानबाट ९० लाख र आन्तरिक तवरबाट अनुमानित ६ लाख रुपैयाँ रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । 


त्यस्तै, पुँजीगततर्फ संघीय सरकारबाट ९ करोड ४५ लाख र प्रदेश समानीकरणअन्तर्गत १ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ । सोरु मुगुमै अन्तिम बजेट ल्याउने र पास गर्ने गाउँपालिका बनेको छ । 


जनप्रतिनिधिको विवादले आठौँ गाउँसभा अधिवेशन प्रभावित हुँदा बजेट, नीति तथा कार्यक्रम अन्योलमा परेको थियो । २० असारका लागि गाउँसभा तोकिए पनि एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिबीच मुख्य अतिथि राख्ने विषयमा घम्साघम्सी भएपछि गाउँसभा हुन सकेको थिएन । छायानाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले १० असारमै गाउँसभा गरेर बजेटसमेत पारित गरिसकेका छन् ।