close

क्लिन कर्णाली अभियानमा जुटे तन्नेरी

क्लिन कर्णाली अभियानमा जुटे तन्नेरी

Trulli
ADVERTISEMENT

सुर्खेत- ‘मेरो फोहोर मेरो जिम्मेवारी: क्लिन कर्णाली ग्रिन कर्णाली’ नारासहित कर्णालीका युवा कर्णाली सरसफाइ अभियानमा होमिएका छन् । कर्णालीका १० वटै जिल्लाबाट विभिन्न कामको सिलसिलामा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत झरेका युवा कर्णालीलाई सुन्दर बनाउन सरसफाइ अभियानमा निरन्तर जुटिरहेका छन् ।


सोही अभियानअन्तर्गत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा सरसफाइ गरिएको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द बुलबुलेमा युवा समूहले शुक्रबार सरसफाइ गरेको हो । कोरोनाका कारण बुलबुले उद्यानको मूल गेट लामो समयसम्म बन्द रहे पछि अन्य विभिन्न क्षेत्रबाट प्रवेश गरेकाले जथाभावी फोहोर गरेर प्रदूषण गरेको पाइएपछि सफाइ गरिएको अभियानका संयोजक राजेश हमालले बताए ।


‘फोहोर व्यवस्थापन गर्नु मात्र नभएर आफ्नो फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो सन्देश हो’, उनले भने, ‘सबैले आ-आफ्नो ठाउँबाट सरसफाइका काम गरेपछि फोहोर व्यवस्थापन आफैं हुन्छ । यसका लागि सबै सचेत हुनैपर्छ ।’ उनले अभियानअन्तर्गत आगामी दिनमा देउतीबज्यै मन्दिर सरसफाइ गर्ने तयारी रहेको सुनाए । 


सरसफाइ अभियानमै जुटेका युवाले माघ १० माघ २०७७ बाट अभियान सञ्चालन गरेका थिए । माघबाट कर्णालीलाई सुन्दर र सफा बनाउन वीरेन्द्रनगरका विभिन्न ठाउँ, सडक, नाली सफा गर्दै शुक्रबार बुलबुलेमा सफाइ गरिएको हमालको भनाइ छ । 


‘यहाँभन्दा पहिले पनि वीरेन्द्रनगर नगरपालिका, जेसिज सुर्खेत, ग्लोबल ओरियन्टसँग समन्वय गरेर अभियान थालेको र यो सधैँभरि चल्दै सकारात्मक सन्देश फैलाउँदै अघि बढ्नेछ ।’ कर्णालीका १० वटै जिल्लाबाट सुर्खेत झरेका करिब १०० जना युवा यो अभियानमा हातेमालो गर्दै कर्णालीलाई साँच्चिकै सुन्दर बनाउने अभियानमा छन् ।


कर्णाली आफैंमा सुन्दर र थुप्रै पर्यटकीय सम्भावना रहेको ठाउँमा दिनहुँ फोहोर व्यवस्थापन नहुँदा युवा मिलेर सुन्दर सफा बनाउनुपर्छ भन्ने सोचले अघि बढेको अर्का अभियान्ता भीम थापा सुनाउँछन् । ‘पर्यटकीय स्थल, खानेपानीको मुहान, पर्यटकीय गन्तव्य स्थल, वनभोज स्थललगायतमा सरसफाइ गरेर प्रकृतिलाई संरक्षण गर्ने उद्देश्यले बोकेर अभियान थालेका हौँ,’ उनले भने ।