close

पालिकाको स्वीकृतिमा पहिलो विद्यालय स्थापना

पालिकाको स्वीकृतिमा पहिलो विद्यालय स्थापना

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार दाल्फुमा नयाँ विद्यालय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको हो । तत्कालका लागि सरस्वती वालविकास केन्द्रको भवनबाट सञ्चालन हुनेगरी नगरपालिकाबाट स्वीकृति पाएको विद्यालय शनिबार नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले उद्घाटन गरेका छन् । 


बलिदान आधारभुत विद्यालय स्थानीय तहको निर्वाचन यता स्थापना गरिएको नगरपालिकाकै पहिलो सामुदायिक विद्यालय बनेको छ । दाल्फुमा नयाँ विद्यालय स्थापनासँगै ११ वडा रहेको नगरपालिकामा सामुदायिक विद्यालयको संख्या ८९ वटा पुगेको नगरपालिकाले जनाएको छ । 


नगरपालिका, नगर शिक्षा समितिको गत २० जेठमा बसेको बैठकले बलिदान आधारभूत विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि कक्षा १ सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । हालसम्म विभिन्न विद्यालयलाई माथिल्लो कक्षा सञ्चालन गर्ने अनुमति दिँदै आएको नगरपालिकाले दाल्फुमा भने नयाँ विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो । 


विद्यालय सञ्चालनका लागि अनुमति दिने निर्णयका बारेमा नगरपालिकाले २८ असारमा पत्राचार गरेको थियो । विद्यालय स्थापना गर्ने १५ वर्षअघिको सपना स्थानीय सरकारमार्फत पुरा भएकामा अभिभावक उत्साहित बनेका छन् । 

 

गाउँमा विद्यालय नहुँदा साना बालबालिका घण्टौं उकालो हिँडेर च्यास्मीटार मावि पुग्न बाध्य थिए । दाल्फुमा विद्यालय स्थापना गर्ने प्रयास स्वरुप २०६२ सालमा वाल बिकास केन्द्र स्थापना गरिएको थियो । नगरपालिकाले हालका लागि सरस्वती बालबिकास केन्द्रको सहजकर्ताको रुपमा लिला थापामगर राईलाई काजमा खटाएको छ । 


विद्यालय उद्घाटन कार्यक्रममा वाल बिकास र कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी भर्ना गरिएको छ । कार्यक्रममा नगरप्रम्ुख राई र उपप्रमुख राईले विद्यालयको भवन लगायतका संरचना निर्माण एवं शिक्षक दरबन्दी व्यवस्थाका लागि नगरपालिकाकोतर्फबाट सहयोग गर्ने आश्वसन दिएका छन् । 


कार्यक्रममा च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्की, पुर्वगाबिस अध्यक्ष भूपाल राई, युवा नेता रसकुमार राई, च्यास्मीटार माबिका व्यवस्थापन समिति अध्यक्ष रिपिन्द्र राई लगतयले विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिका लागि लाग्न अभिभावकलाई सुझाव दिएका छन् । 

 

हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाले गत वर्ष कालिका आधारभुत विद्यालय बाहुनीडाँडालाई माविमा स्तरोन्नती गरेको थियो । यस्तै, यस वर्ष रातमाटे प्रावि दुर्छिमलाई कक्षा ६ तथा कालिका आधारभुत विद्यालय अर्खौलेलाई कक्षा ७ को पठन-पाठन गर्ने अनुमित दिएको जनाएको छ ।