close

राजधानी विवादले नेकपामा सकस: हजाराै‌ँ‌ व्यवसायीद्वारा पार्टी त्यागको घोषणा

राजधानी विवादले नेकपामा सकस: हजाराै‌ँ‌ व्यवसायीद्वारा पार्टी त्यागको घोषणा

Trulli
ADVERTISEMENT

रूपन्देही- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध रूपन्देहीका दुई हजारभन्दा बढी व्यवसायीले पार्टी त्यागको घोषणा गरेका छन् । 


प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा रूपन्देहीबाट निर्वाचित सांसदहरू दाङको पक्षमा समर्थन जनाएर जनभावनाविपरीत गएको भन्दै उनीहरूले पार्टी नेतृत्वलाई राजीनामा बुझाउने निर्णय गरेका हुन् ।


बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले रूपन्देहीका मन्त्री तथा सांसदलाई बहिष्कार गर्ने बताएका छन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यसमेत छन् ।


यस क्षेत्रमा रहेका तीन हजार हाराहारी नेकपा  निकट व्यवसायीले अहिलेको सरकार र पार्टी अध्यक्षसमेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले उक्त पार्टीमा रहन नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् ।


‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्‍यो । माननीयहरूलाई मत राख्नसमेत बञ्चित गरियो । निरंकुशता स्वीकारेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकाले राजीनामा दिने निर्णय गरेका हौँ’, रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले भने ।


यस्तै, रूपन्देहीबाट निर्वाचित सांसद तथा मन्त्रीहरूलाई रूपन्देहीका संघसंस्थाहरूले बहिष्कार गर्ने निर्णय गरेका छन् । ‘अब हामी प्रदेशका सांसद तथा मन्त्रीहरूले बोलाएका कार्यक्रममा पनि जाँदैनौँ । उनीहरूलाई पनि निमन्त्रणा गर्दैनौँ', नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले भने ।


जिल्लाबाट निर्वाचित प्रतिनिधिहरूले रूपन्देहीवासीलाई धोका दिएकाले उनीहरूलाई बहिष्कार गर्ने निर्णय भएको आलमले बताए ।


‘उनीहरूले हामीलाई धोका दिए । मतदाताको मानमर्दन गरे । त्यति मात्र होइन, रूपन्देहीका संघसंस्थाले प्रदेश सरकारको स्थायित्वका लागि उपलब्ध गराएको भौतिक संरचना निर्माणको सहयोगको पनि अवमूल्यन गरे’, रूपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले भने ।