close

उदयपुरका अस्पताललाई स्वास्थ्य सामग्री

उदयपुरका अस्पताललाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

उदयपुर- कोभिड सुरक्षाका निम्ति दातृ निकाय सेभ द चिल्ड्रेनले उदयपुरका दुई अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । दोश्रो लहरको कोभिडप्रति कार्यका लागि सेभको साझेदार संस्था बालविकास समाज (सिडिएस) उदयपुरको समन्वयमा जिल्ला अस्पताल र उदयपुर कोभिड अस्पताललाई आधारभूत स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो ।  


सेभका कार्यक्रम संयोजक दीपक बुढाथोकी र सिडिएसकी उपाध्यक्ष सीता तामाङको टोली दुवै अस्पताल पुगेर सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको चौदण्डीगढी नगपालिका-६ सातधारेस्थित बेलटारमा सञ्चालित ‘उदयपुर कोभिड  अस्पताललाई १८ लाख ६४ हजारको सामग्री उनीहरुले चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलाई हस्तान्तरण गरे ।  

 

कोभिड संक्रमण अहिलेसम्म कायम रहेको र पहिलोभन्दा दोस्रो लहरले नेपालमा धेरै जनधनको क्षति गरिरहेकाले दीर्घकालीन उपचार व्यवस्थापन गर्न सामग्री प्रदान गरेको संयोजक बुढाथोकीले बताए । हरेक विपत्तिबाट बचाउन सेभले नेपाल र नेपालीलाई सहयोग गर्दै आएको स्मरण गर्दै बुढाथोकीले अझै यस्ता सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।  


सामग्री बुझ्दै नगरप्रमुख खगेन्द्र राईले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेर उदयपुरे जनताको स्वास्थ्य सुरक्षाप्रति देखाएको सदभावप्रति आभार व्यक्त गरे । सेभ द चिल्ड्रेन र बालविकास संमाजलको सहयोगले धेरै कोभिड  संक्रमितको अकालबाट ज्यान बचेको नगरप्रमुख राईले बताए । 

 

कोभिड  अस्पताल गतवर्षको महामारीका बेला जिल्लाका ८ वटै स्थानीयतहहरु मिलेर स्थापना गरेका हुन् । सुरुदेखि अहिलेसम्म कोभिड अस्पताललाई संघीय सरकारले सहयोग नगरेको र प्रदेशले पनि नगन्य सहयोग गरेको नगरप्रमुख राईको गुनासो छ । 


सिडिएसको टोलीले जिल्ला अस्पताललाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुढाथोकी र तामाङले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारलाई १४ लाख २१ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 

 

जिल्ला अस्पताललाई अटोमेटिक (स्वचालित) आईसियु बेड, १० लिटर प्रतिमिनट क्षमताको अक्सिजन कन्सन्ट्रेटर, म्याट्रेस र पिक–लो प्रविधिको बेड, मोनिटर, ट्रली, पल्स अक्सिमिटर, पिपिई सेट, एन्टीजेन किट, २० लिटरको ट्रयास विन, डिस्पोजिवल व्याग, फेस सिल्ड, रुबोट बुक, डेडबोडी व्याग, १६ लिटर क्षमताको स्प्रे पम्प, सेनिटाईजर र मास्कलगायत १६ प्रकारका छन्। आईसियु नभएको कोभिड  अस्पताललाई भने आईसियु बेड बाहेक अन्य सबै सामग्री दिइएको छ ।  


दुई अस्पतालसँगै सिडिएसले कटारी नगर अस्पताललाई ७ लाख बढीको सामग्री हस्तान्तरण गर्दैछ भने जिल्ला प्रहरी र सशस्त्रलाई सेनिटाईजर र मास्कलगायत सामग्री प्रदान गरेको छ । अस्पताल, नगरपालिका तथा प्रहरी र सशस्त्रलाई गरी यो वर्ष ४० लाख ६४ हजार ७ सय ८२ रुपैंया बराबरको सामग्री प्रदान गरेको बुढाथोकीले बताए ।  


दुई महिनाअघि मात्र जिल्ला कोभिड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)मार्फत वितरण गर्ने गरी ११ लाख ६४ हजार र उदयपुरगढी गाउँपालिकालाई १ लाख ७० हजारको स्वास्थ्य सामग्री सिडिएसले प्रदान गरेको थियो ।