close

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई कर्णाली सरकारको राहत

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई कर्णाली सरकारको राहत

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारले कोभिड-१९ संक्रमणबाट मृत्यु भएका १ सय ३२ परिवारलाई राहत वितरण गरेको छ । कोभिड-१९ बाट मृत्यु भएका १ सय ३२ परिवारलाई राहत स्वरुप प्रति परिवार एक लाखका दरले रकम वितरण गरिएको हो । 


आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशकाअनुसार पहिलो चरणमा १ सय ३२ जना मृतक परिवारलाई राहत रकम प्रदान गरिएको छ । 

 

कर्णालीमा हालसम्म कोरोनाबाट ३ सय ४३ जनाको मृत्यु भइसकेको छ । यसअघि कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ बाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरी १ सय ३२ जनालाई राहत उपलब्ध गराइएको छ । 


अन्य जिल्लाका मृतकलाई पनि केही दिनमा राहत रकम वितरण गर्ने सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । यसका लागि तथ्यांक संकलनको क्रममा जारी रहेकाले छिट्टै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् । 


उनका अनुसार हालसम्म ३ सय ४५ जनाका परिवारले क्षतिपूर्तिको मागसहित प्रदेश सरकार समक्ष निवेदन पेश गरेका छन् । पिसिआर परीक्षणबाट कोभिड-१९ पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।