close

बर्दिवासमा मेडिकल कलेजको योजना अलपत्र (भिडियो खबर)

बर्दिवासमा मेडिकल कलेजको योजना अलपत्र (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- प्रदेश २ कै गौरवको योजना भनिएको महोत्तरीको बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल डिभिजन वन कार्यालय महोत्तरीमा पुगेपछी अलपत्र परेको छ । पूर्वाधार निर्माणका लागि महोत्तरीको बर्दिवास नगरपालिका वडा न.४ स्थित माइस्थानमा जग्गा पहिचान भएसँगै सम्पूर्ण प्रक्रिया सकेर करिव ६ महिना अगाडि स्वीकृतिको लागि फाइललाई वन डिभिजन कार्यलयमा पठाइएको थियो ।

 

माटो परीक्षणदेखि वातावरणीय प्रभाव मुल्यांकनको प्रतिवेदन समेत राखेर पठाइएको फाइललाई वन कार्यलयले सदर गर्न नसक्दा बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजना नै स्थगित हुने अवस्था सिर्जना भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणा अनुसार आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यको बुँदा नम्बर २२४ मा प्रदेश-२ महोत्तरीको वर्दिवासमा, प्रदेश ५ को रुपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो ।

 

संघीय सरकारले प्रदेश २ को ८ वटै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन, अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिवास नगरपालिकालाई नै स्थान निर्धारण गरेको थियो । वागमती प्रदेशकोे रामेछाप, दोलखा सहित प्रदेश-२ का सबै जिल्लाको मध्यविन्दु हुँदाहुँदै पनि मेडिकल कलेजका लागि विकल्प सोच्नु भनेको सबैको लागि दुर्भाग्य बन्न सक्ने विज्ञले बताउँदै आएका छन् । 


भप्सी खोला छेउमा अवस्थित वनको जग्गामा मेडिकल कलेज बनाउने योजना छ । वन विनाश गरेर मेडिकल कलेज बनाउन नपाइने भन्दै जनकपुरधाम वन प्राविधिक समिति लगायतले विरोध गर्दै आएका छन् । यस मेडिकल कलेज निर्माणपूर्व जग्गाको अनुगमनदेखि विभिन्न पत्र पत्रिकामा सूचना निकालिसकेको र बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माणको प्रारम्भिक कार्य नै अड्किएको छ ।

 

सुरुमा १०१ दशमलव ४९ हेक्टरमा मेडिकल कलेज बनाउने योजना रहे पनि धेरै रुख मासिने भन्दै त्यसलाई घटाएर ५४ दशमलव ५ सय ८४ हेक्टर जग्गामा सीमित गरिएको छ । प्रस्तावित जग्गामा रहेका १ हजार ९ सय ३७ रुखमध्ये बचाउन सकिने रुखलाई मेडिकल कलेज परिसरमै समेटेर सुरक्षित राख्ने योजनासमेत बनाइएको छ । यता, नगरपालिकाले रुखहरू काट्दा पर्यावरणलाई असर पुर्‍याउन सकिने विषयलाई ध्यानमा राखेर यो वर्षमात्र ५० हजार बिरुवा रोप्ने तयारी गरेको छ ।


३५ अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण हुन लागेको १ हजार शय्याको बर्दिवास मेडिकल कलेजको डिपिआर निर्माण भइसकेको छ भने इआइए रिपोर्टसमेत तयार भइसकेको छ । तर वन कार्यालयले वन विनाश हुने भन्दै उक्त आयोजनाको विरोध गरिरहेको छ । २०७८ साल जेष्ठ ५ गते डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालय बर्दिबासलाई विभागको माग बमोजिम विवरण तयार गर्न लगाएदेखि नै वनबाट गर्ने सम्पूर्ण कार्य रोकिएको छ ।


निर्माणको लगभग सम्पूर्ण तयारी भइसक्दा पनि मेडिकल कलेज निर्माणमा अवरोध हुनु भनेको मेडिकल कलेज नै बन्न नदिने षड्यन्त्र भइरहेको स्थानीयको बुझाई छ । यदि आयोजना सहज र बिना अवरोध सम्पन्न भए एक हजार बेडको अस्पताल निर्माण हुनेछ भने अन्तर्राष्ट्रिय स्तरको मेडिकल कलेज स्थापना हुनेछ । तर, बर्दिवास मेडिकल कलेज स्थपनाको लागि राजनैतिक तथा व्यक्तिगत स्वार्थ हावी हुँदा संघीय सरकारको राष्ट्रिय महत्वको आयोजना र प्रदेशको गौरवको आयोजना नै ओझेलमा पर्ने देखिएको छ ।