close

नमोबुद्धका कृषकलाई अनुदानमा कृषि औजार

नमोबुद्धका कृषकलाई अनुदानमा कृषि औजार

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिका वडा नं. २ का कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको छ । आर्थिक बर्ष २०७७/७८ को कार्यक्रमअनुसार आइतबार वडाका ६५ जना कृषकले कृषि औजार र उपकरण पाएका छन् । आज आइतबार आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले वडाका कृषकलाई ती सामग्री हस्तान्तरण गरे । 

 

कार्यक्रममा कुल ३२ जना कृषकलाई मिनिटिलर हस्तान्तरण गरिएको छ । जसमध्ये वडा कार्यालयले नगरपालिकाबाट प्राप्त दुईवटा तथा वडाको बजेटबाट व्यवस्था गरिएको १६ वटासहित १८ वटा एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक प्रवद्र्धन एवं विकास कार्यक्रम अन्तर्गत कृषक समूह÷सहकारीमार्फत थप १४ वटा मिनिटिलर (ट्रयाक्टर) वितरण गरिएको छ । 

 

यस्तै १० वटा च्याफ कटर (भुसा काट्ने मेसिन) तथा २३ वटा इलेक्ट्रिक पम्प वितरण गरिएको छ । कृषकहरुलाई मिनिटिलर र इलेक्ट्रिक पम्प ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ भने च्याफ कटर ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ । 

 

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्वन्धी कार्यक्रमहरु अघि बढाइएको बताए । नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै कृषि नीति तयार पारिएको र विभिन्न वडामा पकेट क्षेत्रहरु बनाएर कृषि उत्पादनलाई जोड दिइएको तिमल्सिनाले बताए । 

 

उनले नगरपालिका तथा वडाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न पनि कृषकहरुलाई आग्रह गरे । यसै बर्षभित्र नगरपालिकाका सबै वडा कार्यालयको निर्माण सम्पन्न हुने, प्रमुख सडकहरु निर्माण तथा स्तरोन्नतिको काम सकिने पनि तिल्सिनाले जानकारी दिए । कृषि उत्पादनको बजारीकरणका लागि तरकारी संकलन केन्द्रहरुको व्यवस्थापन गरिएको तिमल्सिनाको भनाई थियो । 

 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कृषिबाटै आर्थिक क्रान्ति हुनसक्ने भएकाले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको बताए । 

 

उनले किसानका लागि भैसी वितरण,  बाख्रा वितरण तथा कृषि औजार एवं उपकरण वितरणलाई निरन्तर अघि बढाउने पनि जानकारी दिएका छन् । यस आर्थिक बर्षमा पनि कृषि क्षेत्रका लागि विशेष बजेटसहित कार्यक्रमहरु तय गरिएको उनको भनाई थियो । 


वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालका अनुसार मिनिटिलरका लागि १ सय ६७ जना किसानले आवेदन दिएकोमा गोलाप्रथाबाट छानिएका किसानलाई मिनिटिलर दिइएको हो । यस्तै च्याफ कटरका लागि ६२ जना कृषकले निवेदन दिएका थिए भने २३ जना कृषकले इलेक्ट्रिक पम्पका लागि निवेदन दिएका थिए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भने कृषक समूहले छनोट गरेका कृषकलाई मिनिटिलर वितरण गरिएको ढकालले बताए । उनले वितरण गरिएका सामग्रीको पुर्णरुपमा सदुपयोग गर्न आग्रह गर्दै कतै बिक्री वितरण गरेको पाइएमा सम्वन्धीत किसानलाई आगामी दिनमा कुनै पनि किसिमका कृषि अनुदान उपलव्ध नगराइने बताए । कृषि औजार र उपकरण वितरण गर्दा वडाका सबै भेगका किसान समेटिएको उनको भनाई थियो ।