close

जुम्लाको गुठीचौरबासीका घर–घरमा इन्टरनेट

जुम्लाको गुठीचौरबासीका घर–घरमा इन्टरनेट

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ । गुठीचौर गाउँपालिकाको ५ नम्बर वडा कार्यालयसहित अन्य स्थानीयको घरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । 

 

वडा नम्बर ५ को १५ लाख रुपैयाँ लागत साझेदारीमा उक्त इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । जुम्ला बजार हुँदै फाइबर लाइन गुठीचौर गाउँपालिकाको ३ नम्बर वडा गज्याङकोट गाउँसम्म जडान गरिएको छ ।

 

५ नम्बर वडाध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार अहिले यो वडामा ६१६ घरधुरी छन् ।  सबै घरधुरीमा विस्तार हुने गरी इन्टरनेटको फाइबर लाइन विस्तार भएको छ । 


‘इच्छुक नागरिकले आवश्यकताका आधारमा आफ्नाे घरमा इन्टरनेट लाइन जडान गर्न सक्ने गरी लाइन विस्तार गरिएको हो’, उनले भने, ‘अहिले वडापालिकाको सहयोगमा लाइन जडान भए पनि मासिक इन्टरनेट चार्ज भने स्थानीय आफैंले तिर्नुपर्नेछ ।’ 

 

सिम्पलको फाइबर टु होम इन्टरनेट सेवा गुठीचौर गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा विस्तार भएको छ । यस्तै, चन्दननाथ नगरपालिका सदरमुकाम खलंगामा पनि सिम्पल फाइबर इन्टरनेट सेवाको लाइन विस्तार गरिएको छ ।

 

डिभाइसभन्दा पनि फाइबर इन्टरनेट लाइन विस्तार भएपछि इन्टरनेट द्रुत गतिमा चल्ने गरेको स्थानीय बताउँछन् । सिम्पल इन्टरनेटले जुम्लाका ८ स्थानीय तहसँगै साविक कर्णालीका ४ जिल्लामा समेत इन्टरनेट सेवा दिँदै आएको छ ।


अहिले फाइबर टु होम इन्टरनेट सेवा सदरमुकाम केन्द्रित भए पनि आवश्यकताअनुसार गाउँगाउँमा समेत पुर्‍याइनेछ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा छिटो हुने अध्यक्ष प्रतिभा शाहीको दाबी छ । यद्यपि, नेपाल टेलिकमले क्षमता विस्तारको काम द्रुत गतिमा भइरहेको छ ।