close

सुत्केरीलाई पाेसिलाे आहार (भिडियो खबर)

सुत्केरीलाई पाेसिलाे आहार (भिडियो खबर)

ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवल उपमहानगरपालिकाले उपप्रमुख गर्भवती  तथा  सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ । गर्भवती तथा सुत्केरीलाई पोसिलो खाद्य सामग्री र सुत्केरी मसला वितरण गर्दै आएको छ । गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । कार्यक्रमले लक्षित समुदायलाई समेत खुसी बनाएको छ । 


पछिल्लो समय स्थानीय सरकारका जनप्रतिनिधिले सुरक्षित मातृत्व गराउन र मृत्युदर घटाउन विभिन्न कार्यक्रम अघि सारेका छन् । पालिकाहरुले सुत्केरी र गर्भवतीसँग उपप्रमुख, उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि यस्तै कार्यक्रम अघि सार्दा थुप्रै सुत्केरी र गर्भवती लाभान्वित भएका छन् ।

 

बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्य हिजोआज सुत्केरीको स्याहारमा आफै पौष्टिक आहार लिएर गाउँगाउँ डुल्ने गरेकी छिन् ।  कार्यक्रम अन्तरगत गर्भवती र सुत्केरीलाई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच र परामर्श समेत दिइँदै आएका छन् । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको स्वास्थ्यमा हेरचाह पुर्‍याउन उपमहानगरले यो कार्यक्रम अघि सारेको हो ।


मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी बुटवलले मुलुकमै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लामो समयदेखि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्र्मीहरू लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आएकी छिन् ।


उपमहानगरपालिकाले अघि सारेको सुत्केरी पोषण कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका गर्भवती र सुत्केरीलाई पोषण तत्व खानु पर्छ भन्ने कुरा सिकाएको छ । उपमहानगरको यो नमूना कार्यक्रमले सुत्केरी र गर्भवतीहरु दंग छन् ।


बुटवलले अगाडी सारेको गर्भवती र सुत्केरी आमा भेटघाट गरी सहयोग गर्ने कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिएको मात्र छैन गरिव तथा विपन्न परिवारले लाभ लिन पाएका छन् । उपमहानगरले यसअघि लकडाउनको अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक परिवारका ८१ जना गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो ।