close

कहिले बन्छ धुलिगाडा नदीको पुल ?(भिडियो खबर)

कहिले बन्छ धुलिगाडा नदीको पुल ?(भिडियो खबर)

ADVERTISEMENT

दार्चुला- कुनै बेला निकै विकट मानिने सुदूरपश्चिम प्रदेशको दार्चुला पछिल्लो समय सीमा विवादका कारण चर्चामा छ । तर चर्चा भए जत्तिकै विकास भने छैन । यतिसम्म कि सडक भएपनि यात्रा गर्न आवश्यक पर्ने नदीमाथि पुल छैनन् । पुल नहुँदा न त यात्रा सहज हुन्छ न त आवतजावत नै ।

 

जिल्लाको विकट गाउँपालिकाका रूपमा चिनिने नौगाड गाउँपालिकामा धुलिगाडा नदी यस्तै, समस्याको कारक बनेको छ । समस्या समाधान गर्न र सहज यात्राका लागि भन्दै आर्थिक वर्ष २०७२/०७३ मा पुल निर्माण सुरु गरियो । तर, अहिलेसम्म बन्न सकेको छैन । पुलमा पाता मात्रै राखिएको छ । यात्रा गर्न जोखिम मोल्नुपर्ने बाध्यता छ ।

 

स्थानीयले पुल बनाउने ठेकेदारले लापरवाही गरेको आरोप लगाउने गरेको भएपनि अहिलेसम्म छानविन हुन सकेको छैन । नदी उर्लिएको छ । नदीमाथि फलामको पाता छन् । पाता खासमा निर्माणाधिन पुल हो । आवतजावत गर्न भनेर बनाउन सुरु गरेकै लामो समय भयो । तर, अहिलेसम्म यो पाता भन्दा अरु केही पनि छैन ।  खोला वारपार गर्न अरु केही विकल्प पनि छैन ।

 

यात्रु फलामको पाता समाएर वारपार गर्छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सिद्धराज जोशी केही दिन अघि दार्चुलाको विभिन्न गाउँमा आएको पहिरोले पुर्‍याएको क्षति हेर्न सुरक्षाकर्मीको टोलीसहित पुगेका थिए । उनीहरूले पनि यही फलामको पाता समाएर यात्रा गर्न बाध्य भए । 


एक दिन यहाँ पुग्ने र फर्कनेका लागि त यो नौलो होला । तर, वर्षेनि यही ढंगले यात्रा गर्नुपर्ने नियति हो, नौगाडवासीको । स्थानीय देखि व्यापारीसम्म पुल नबन्दा सास्ती भोगिरहेको गुनासो गर्छन् । खासमा यो पुल ६ वर्ष अघि तत्कालिन पूर्वाधार विकास कार्यालय दार्चुलाले ठेक्का सम्झौता गरेर निर्माण कार्य अघि बढाएको थियो ।

 

थोदुङ जसलिङ्ग निर्माण सेवा बैतडीसँग पटकपटक म्याद थप गरेर गत २०७७ पुष मसान्सम्म सम्पन्न गर्ने गरि ३ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो । तर, ठेकेदारको लापरवाहीका कारण पुलको निर्माण समयमा सम्पन्न हुन सकेन । लामो समयदेखि स्थानीय यही पीडामा बसिरहेका छन् । बल्ल प्रमुख जिल्ला अधिकारीले पनि यो समस्या थाहा पाएका छन् । र, उनले पुल नबन्नुको कारणबारे अध्ययन गरेर कारवाही प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । 


दार्चुलाको नौगाडका सबै वडामा पुग्ने प्रयोजनका लागि पुल बनाउने काम अहिले अलपत्र छ । पुल वारीबाट पारी मोटरसाईकलसम्म एक्साभेटरले जोखिम मोलेर तार्नुपर्ने बाध्यता छ । मान्छे जोखिम मोलेर तर्दछन् । अरुले जोखिम मोलेर तरे पनि बुढापाखा, बिरामी, अपांगता भएका व्यक्ति तथा गर्भवती तथा बच्चा बोकेका व्यक्ति, भरियालाई भने निकै सकस छ ।

 

अहिले पुल बनाउन सुरु गर्दा तयार गरेको संरचनामा दुई बित्ताको बाटो छ । ठेकेदारले काममा लापरवाही गर्दा नै समस्या भोग्नुपरेको गुनासो गाउँपालिकाको छ । धुलिगाडा पुल बनेको भए गाउँपालिकाका सबै वडामा गाडीबाटै यात्रा गर्न सम्भव हुने थियो । तर, बीच बाटोको पुल नबन्दा स्थानीयदेखि अनिवार्य कामका लागि त्यहाँ पुग्ने मानिसलाई समस्या हुने गर्दछ । यदि निर्माणमा ठेकेदारले लापरवाही गरेको हो भने तुरुन्त कारवाही गर्नुपर्छ । र, ठेक्का सम्झौता तोडेर भएपनि पुल निर्माण सम्पन्न गर्नु अपरिहार्य भइसकेको छ ।