close

नमोबुद्ध-११ को वडा कार्यालय अब आफ्नै भवनमा

नमोबुद्ध-११ को वडा कार्यालय अब आफ्नै भवनमा

Trulli
ADVERTISEMENT

काभ्रे- ४ वर्षदेखि भाडाको घरमा सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालय सोमबारदेखि आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । योसँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुनेछ ।


नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवनको एकसाथ उद्घाटन गरे । २०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएर निर्माण भई उद्घाटन भएको वडा नम्बर ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । 

 

नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहज रूपमा सेवा प्रदान गर्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नम्बर ११ सहित वडा नम्बर ३ र ६ को वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । 


दोस्रो चरणमा वडा नम्बर २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षमा वडा नम्बर १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवन निर्माणको कामसमेत सकिइसकेको छ । 


उक्त अवसरमा नगर प्रमुख तिमल्सिनाले नगरको विकासमा लागिपरेको बताए । सबै वडामा प्रशासकीय भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको, मुख्य सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भएको तथा सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताए । 


नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुनर्निर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नम्बर ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको जानकारी दिए । नगरमा कृषि औद्योगिकीकरणमा पनि विशेष जोड दिइएको र सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयनमा लगिएको उनले बताए ।


वडा नम्बर ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कार्यसमेत सुरु गर्न लागिएको उनको भनाइ छ ।  कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीव्र भएको बताउँदै यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गरिन् ।  उनले सडक निर्माणसमेत नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको र सोहीअनुसार नगरका सबै वडामा मुख्य तथा सहायक सडक निर्माणको काम भइरहेको जानकारी दिइन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीले सहज रूपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण, वडा कार्यालयका साथै मोबाइल एप्लिकेसनमार्फत राजस्व भुक्तानीको व्यवस्थापन गरिएको सुनाए । गाउँ-गाउँमा सिंहदरबारको नारालाई सार्थक बनाउनकै लागि सबै वडामा कार्यालय भवन निर्माणलाई विशेष जोड दिइएको र यसले वडाबासीलाई सेवा प्रवाहमा थप प्रभावकारिता आउने उनको विश्वास छ ।


वडा नम्बर १ का वडाध्यक्ष कृष्णबहादुर तामाङले दाप्चा सडकदेखि वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताए । वडाबासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उनले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । 


नगरपालिकाका अन्य वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कर्म ग्याल्बो लामा, वडा सदस्य भवमान तामाङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकै अवसरमा वडा कार्यालयको दलित आयआर्जन कार्यक्रमअन्तर्गत वडामा रहेका १३ वटै दलित परिवारलाई आयमूलक कार्यका लागि ड्रिल मेसिन, वेल्डिङ मेसिन र कटिङ मेसिन वितरण गरिएको थियो ।


यस्तै, ४ वर्षसम्म वडा कार्यालय र स्वास्थ्य केन्द्र सञ्चालनका लागि घर उपलब्ध गराउने घरधनीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव शंकर भट्टराईले सञ्चालन गरेका थिए ।