close

बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना, सवारी जाँचमा कडाइ

बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना, सवारी जाँचमा कडाइ

Trulli
ADVERTISEMENT

बैतडी - चाडपर्वको बेला यात्रुहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सदरमुकामस्थित गोठलापानी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चाडपर्वको समयमा यात्रुहरूलाई पर्न सक्ने विभिन्न समस्याहरूलाई समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

 

बढी भाडा लिएमा, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएमा र यात्रुलाई अन्य कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्नसमेत उनले अनुरोध गरे । 

 

यस्तै प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने रावलले बताए ।

 

दशैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर पाटन र खोड्पेमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने ट्राफिक प्रहरी इन्चार्ज रावलले जानकारी दिए । ट्राफिक प्रहरीले चाडपर्वका समयमा प्रत्येक वर्ष यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिँदै आएको छ ।


यसैबीच चाडपर्व नजिकिँदै गर्दा बैतडीमा प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ । कोरोना सतर्कताका लागि अहिले सरकारले तोकेको सिटअनुसार यात्रु बोके वा नबोकेको, यात्रा गर्ने क्रममा मास्क लगाएको वा नलगाएको अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

 

बैतडी जिल्ला अन्यत्र भन्दा भीडभाड कम हुने जिल्ला भएकाले धेरै समस्या नभए पनि केही गाडीहरू भने कारबाहीमा समेत परेको उनले बताए ।