close

शुक्लागण्डकीका स्वास्थ्यकर्मीमाथि हातपात : सुरक्षाको ग्यारेन्टी नभएसम्म खोप नलगाइने 

शुक्लागण्डकीका स्वास्थ्यकर्मीमाथि हातपात : सुरक्षाको ग्यारेन्टी नभएसम्म खोप नलगाइने 

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षा प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका
छन् । नगरप्रमुख किसान गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै स्वास्थ्यकर्मीले सुरक्षा माग गरेका हुन् । 

 

१ साउनमा स्वास्थ्य शाखामा खोप नपाएको झोकमा निजी विद्यालयका शिक्षकले स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवमाथि हातपातको प्रयास गरेको ध्यानाकर्षणपत्रमा जनाइएको छ ।

 

यस्तै, आधारभूत स्वास्थ्य केन्द्र फिर्दीमा कार्यरत अनमी रुवि थापा र दुलेगौँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि स्थानीयले दुव्र्यवहार गरेको उल्लेख छ । स्वास्थ्यकर्मीले दोषीमाथि कारबाहीको माग गरेका छन् । 

 

मागबमोजिम खोप प्राप्त नहुँदा निजी विद्यालयका शिक्षकले खोप लगाउन नपाएपछि दुव्र्यवहारसँगै सरुवा गरिदिनेसम्मको धम्की दिइएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले बताए ।  उनले भने, ‘यस्ता दुव्र्यवहारले कर्मचारी सुरक्षित महसुस गर्दैनन् । शिक्षकले नै दुव्र्यवहार गर्नु राम्रो होइन ।’

 

खोप आफूहरूले नल्याएको र सरकारले नै पठाइदिएकाले लक्षित वर्गलाई लगाइने र अपुग भए माग गरिने बताए । तर, खोप नपाएको रिस कर्मचारीमाथि पोखिएकाले कारबाही माग गरिएको उनको भनाइ छ ।

 

नगरप्रमुख गुरुङले संयम र धैर्य भएर काम गर्न स्वास्थ्यकर्मीलाई सुझाएका छन् । ‘पब्लिक आवेशमा आउँदा यस्तो दुव्र्यवहार हुन्छन् । तर, धैर्य र संयम भएर समस्याको समाधानमा लाग्नुपर्छ’, उनले भने । 

 

मागअनुसार खोप नआएकाले समस्या भएको उनको बुझाइ छ । सबैले सभ्य व्यवहार प्रस्तुत गर्नुपर्ने उनको तर्क थियो । ‘हामीलाई नागरिकको पीर नभएको
होइन । चिन्ता छ । खोप किन्न बजेट विनियोजन गरेका छौँ’, उनले भने, ‘१ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले प्रतिबद्धता जनाएअनुसार 
खोप नपठाए हामी आफैं किन्छौँ ।’

 

५५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका सवारी चालकलगायत लक्षित वर्गका लागि आएको खोप लगाउने बेला स्वास्थ्यकर्मी दुव्र्यवहारमा परेका हुन् ।

 

निजी विद्यालयमा कार्यरत शिक्षक आफूहरूमाथि खोपमा विभेद भएको भन्दै आक्रोशित भएका छन् । सामुदायिक विद्यालयका शिक्षकलाई भने खोप दिइएको
छ ।

 

५५ वर्षमाथि उमेरका ज्येष्ठ नागरिकले पनि घन्टौं लाइन बसेर खोप लगाउन नपाएपछि विरोध जनाएका छन् । जनस्तरबाट खोपको दुरुपयोग भएको भन्दै आलोचनासमेत हुन थालेको छ ।