close

दिक्तेलका ११५ रोपनी बाँझो जग्गा तरकारीले हराभरा

पालिकाभित्रै उत्पादन हुन्छ प्रांगारिक मल

दिक्तेलका ११५ रोपनी बाँझो जग्गा तरकारीले हराभरा

पालिकाभित्रै उत्पादन हुन्छ प्रांगारिक मल

Trulli
ADVERTISEMENT

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँच वडाका १ सय १५ रोपनी बाँझो जग्गामा नगदे बालीको खेती लगाइएको छ ।  ‘बाँझो जमिनमा खेतीका लागि अनुदान’ कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १, ६, ११, १२ र १४ मा भएका बाँझो जग्गामा अदुवा, बेसार, अलैंची, फलफूल तथा खाद्यान्न बाली लगाइएको हो ।

 

तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउन ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बाँझो जमिन उपयोगसम्बन्धी कार्यविधि-२०७७’ बमोजिम १० किसानलाई अनुदान उपलब्ध गराइएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।  आर्थिक वर्ष २०७७/७८ सम्ममा कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा-एक पकेट कार्यक्रम’ सञ्चालन गरेर कृषकलाई व्यावसायिक कृषितर्फ उन्मुख गराइएको छ ।  

 

चालू आर्थिक वर्षदेखि कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्नेे, युवालाई कृषि व्यवसायमा आकर्षित गरी आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमुना कृषि तथा पशुपन्छी फर्म निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

 

विदेशबाट फर्किएकालाई कृषिमा सुविधा

मकैमा लाग्ने अमेरिकन फौजी कीराको नियन्त्रणका लागि कृषकलाई आवश्यक सामग्री वितरण गरी व्यवस्थापन गरिएको, वैदेशिक रोजगारीबाट फर्केका लक्षित वर्गलाई कृषि व्यवसाय सुरुवातका लागि प्लास्टिक टनेल, थोपा सिँचाइ सेट र आईपिएम सामग्री हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रम गरिएको, तरकारी उत्पादनको सम्भावना भएका सुक्खा ठाउँलाई लक्षित गर्दै २० जनालाई सिँचाइका लागि प्लास्टिक पोखरी बनाउन २५० गेजको सिल्पौलिन प्लास्टिक उपलब्ध गराइएको नगरप्रमुख रिजालले बताए । 

 

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा महिला तथा पिछडिएका वर्गका लागि च्याउ उत्पादन प्रविधि एवं बिउ सहयोग कार्यक्रम सञ्चालन गरेको छ । 

 

पालिकाभित्रै प्रांगारिक मल

दिक्तेल कम्पोस्ट प्लान्ट एवं नमुना कृषि स्रोत केन्द्र उद्घाटन गरी प्रांगारिक मलको उत्पादन सुरु गरिएका छ भने  स्रोत केन्द्रअन्तर्गत आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ । 

 

माटो परीक्षणका लागि सबै वडालाई माटो जाँच गर्ने उपकरण हस्तान्तरण गरिएको, पशु नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिएको, एक वडा-एक कृषि प्राविधिक अवधारणा पूरा गरी कृषि तथा पशुपन्छी सेवालाई सहज बनाइएको नगरप्रमुख रिजाल बताउँछन् । 

 

स्थानीय पाठ्यक्रम लागू 

शिक्षातर्फ कक्षा १ देखि कक्षा ८ सम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको, नगरभित्रका सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा तथा टिफिन बट्टा वितरण गरिएको छ ।

 

गर्भवतीलाई यातायात खर्च 

 स्वास्थ्यतर्फ नगरभित्रका सबै गर्भवती तथा प्रसूति भएका महिलालाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरणको सुरुवात गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति हुन नसक्ने गर्भवती महिलालाई अन्यत्र लैजान एकतर्फी यातायात खर्च उपलब्ध गराउन थालिएको छ । 


 स्वास्थ्य चौकी बुइपामा निःशुल्क सुरक्षित गर्भपतन सेवा र स्वास्थ्य चौकी नेर्पाबाट प्रसूति सेवा सुरु गरिएको छ । स्वास्थ्य चौकी पाथेका र बुइपामा टेलिमेडिसिन कार्यक्रम सञ्चालनमा ल्याईएको छ भने स्वास्थ्य चौकी बुइपा र निर्मलीडाँडामा प्रयोगशाला स्थापना गरिएको नगरपालिकाले जनाएको छ । 

 

पार्कमा पनि अगाडि 

बगरेभञ्ज्याङमा पार्क निर्माणसँग सम्बन्धित संरचनाको काम अन्तिम चरणमा पुगेको, रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको, मझुवागढीमा चिण्डो (बाबु) को प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । 

 

गरिबलाई छानो 

 

 सुरक्षित नागरिक आवास कार्यक्रम (गरिबका लागि छानो) अन्तर्गत खरको छानो विस्थापित गरी ३४८ घरधुरीमा जस्तापाताको छानो राख्ने काम भइरहेको नगरप्रमुख रिजालले बताए । 

 

आमा समूहलाई मिल

चौथो नगर दिवसको अवसरमा १५ वटा आमा समूहलाई एक-एक थान कुटानी-पिसानी मिल हस्तान्तरण गरिएको, आरन पेसालाई प्रवद्र्धन गर्ने उद्देश्यले १५ जनालाई वेल्डिङ मेसिन आरन हस्तान्तरण गरिएको छ । 

 

 विपन्न एकल महिला अम्बिका खतिवडालाई उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको, नगरभित्रका फरक क्षमता भएका पाँच जनालाई बिउ पुँजीको रुपमा १५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको छ । 

 

नगरको वित्तीय प्रगति ८६.२५ प्रतिशत 

आर्थिक वर्ष २०७७/७८ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति जम्मा ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालुतर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । 

 

कुल विनियोजित बजेटमध्ये पुँजीगततर्फ ३० करोड ५४ लाख २२ हजार र चालूतर्फ ५० करोड ७ लाख ५७ हजार गरी ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।