close

बाढीले शिवाई पुलका ३ स्ल्याब क्षतिग्रस्त, संरचना नै नासिने खतरा

बाढीले शिवाई पुलका ३ स्ल्याब क्षतिग्रस्त, संरचना नै नासिने खतरा

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पुनः दोस्रो पटकको बाढीले क्षतिग्रस्त बनाएको छ ।  गत १९ असारमा आएको बाढीले पुल निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेका बेला शिवाईपट्टिको पहिलो र दोस्रो स्ल्याब जोड्ने पिलर धसिएपछि पुल क्षतिग्रस्त भएको थियो । 


त्यसैगरी २ साउनमा आएको बाढीले पश्चिमपट्टिकै दोस्रो पिलर धसिएर दोस्रो र तेस्रो स्ल्याब झरेर क्षतिग्रस्त बनेको छ । दोस्रो पटक आएको बाढीले त्रियुगा नदीको पक्की पुलको ३ वटा स्ल्याब खोलामा झरेर क्षतिग्रस्त भएको हो । १९ असारको बाढीले पुल पहिलो पटक भत्किएको थियो । 


पुलको एउटा स्पान नदीमा झरेको थियो भने अर्को ढल्किएको थियो । दोस्रो पटक शनिबारको बाढीले ढल्किएको स्ल्याब पनि बगाएको र अर्को स्पान धसिएर थप २ स्ल्याब पानीमा झरेको हो । अहिलेसम्म ३ स्पानको ३ वटा स्ल्याब झरेको र एउटा बाढीले बगाएको स्थानीयले बताए । पुलबाट असार दोस्रो साता मात्रै सर्वसाधारणलाई पैदल यात्राको अनुमति दिइएको थियो ।

 

‘बाढीसँगै पुलको संरचना क्रमशः भत्किँदै गएको छ,’ चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दपुरका वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘निर्माण नसकिँदै जसरी पुल भत्किँदै गएको छ, यस्तै हो भने यो पुलको अस्तित्व नै रहँदैन । एउटा पिलर बांगिएर एउटा स्ल्याब झर्दा मर्मत गर्न सकिन्छ भन्ने थियो । तर क्रमशः झर्दै जाँदा पुल नै नरहने हो कि भन्ने देखियो ।’ 


चौदण्डीगढी नगरपालिकको केन्द्र बेल्टार बजारलाई पूर्व–पश्चिम महेन्द्र लोकर्मागसँग जोड्ने गरी पुल निर्माण गरिएको हो । पुल झन्डै १२ वर्षदेखि निर्माण भइरहेको थियो । पहिलो चरणको बाढीपछि क्षतिग्रस्त बन्न पुगेको पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको प्राविधिकको टोली क्षतिग्रस्त पुलको स्थलगत अध्ययन गरी फर्किएको छ ।


मन्त्रालयले संघीय सडक सुपरिवेक्षण अनुसन्धान कार्यालय दमकका सुपरिटेन्डेन्ट इन्जिनियर नवीनमान श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अध्ययन टोली गठन गरेको थियो ।  टोलीमा सडक विभाग पुल महाशाखाका सिनियर इन्जिनियर ईश्वरबहादुर रिजाल र पुल नम्बर १ इटहरीका इन्जिनियर नितिश झाको टोली शिवाईमा स्थलगत अध्ययन गरी फर्किएको हो । 


३ सय ७ मिटर लम्बाइ, १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम शिवाईतर्फको पहिलो, दोस्रो र तेस्रो पिलर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको हो । करिब ११ करोड २७ लाख लागतको उक्त पुल ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको हो ।