close

मध्यबिन्दुले बनायो ५ करोड लागतमा आफ्नै भवन

मध्यबिन्दुले बनायो ५ करोड लागतमा आफ्नै भवन

Trulli
ADVERTISEMENT

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त नयाँ भवन उद्घाटन गरे ।


मध्यबिन्दु वडा नम्बर ७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाको काम सुरु गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि नगरबासीलाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन निर्देशन दिए ।


नगरप्रमुख चन्द्रबहादुर रानाले नगरको समग्र विकासमा मुख्यमन्त्री पोखरेलको महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।  मध्यबिन्दुको विकास गर्न नगरले तयार गरेको गुरुयोजनासमेत मुख्यमन्त्रीलाई हस्तान्तरण गरे ।


केही वस्तुगत शाखाको काम नयाँ भवनबाट सुरु गरिए पनि पूर्ण सञ्चालनका लागि अझ केही समय लाग्ने नगरप्रमुख रानाले बताए । कार्यालय व्यवस्थापनका लागि फर्निचर खरिद ठेक्का प्रक्रियामा रहेकाले त्यसपछि नगरपालिकाको सबै सेवा उक्त भवनबाट सुरु हुने उनले जानकारी दिए ।

 

मध्यबिन्दु नगरपालिकाको भवन २०७३ मा निर्माणका लागि शिलान्यास भएर काम अगाडि बढेको थियो । २ चरणमा भएको ठेक्का सम्झौतामार्फत भवन निर्माण सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०७४/७५ मा कैलाश एन्ड कम्पनीसँग १ करोड २० लाख रुपैयाँ लागत सम्झौतामा भवन निर्माणको काम भएको थियो ।


पुनः २२ फागुन २०७५ मा बिरुवा कामाख्य उपमा जेभीसँग ३ करोड ८१ लाख ७९ हजार ९३१ रुपैयाँमा निर्माण सम्झौता गरी ठेकेदार कम्पनीले २२ माघ २०७७ मा नगरपालिकालाई भवन हस्तान्तरण गरेको सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिए ।
२ चरणमा गरेर ५ करोड २ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको रेग्मीले बताए ।