close

ठाटीकाँधको एनसिसी बैंकमा ओइरिए सेवाग्राही

ठाटीकाँधको एनसिसी बैंकमा ओइरिए सेवाग्राही

Trulli
ADVERTISEMENT

दैलेख- आर्थिक वर्ष अन्त्यमा ठाटीकाँध गाउँपालिकाको ठाटीकाँधमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) ठाटीकाँध शाखामा सेवा लिने सेवाग्राहीको भीड थामिनसक्नु भएको छ । आर्थिक वर्ष २०७६/७७ को विकास बजेट समाप्तिका बेला पालिकाबाट योजनाको भुुक्तानी लिन उक्त बैंकमा सेवाग्राहीको भीड बढेको हो । 


स्थानीय नागरिकका समस्या समाधान होलान् भनेर पालिकामा बैंक शाखा पुगे पनि सेवाग्राहीले सास्ती पाउँदै आएका छन् । गाउँमा बैंक पुगेर केहीले सेवा पाए पनि अधिकांश नागरिक दैलेख र सुर्खेत पुग्नुपर्ने बाध्यता अहिले पनि छ । ‘पालिकाबाट भुक्तानी लिन बैंकमा लाइन लाग्दालाग्दै साता दिन बित्न लाग्यो । अहिलेसम्म काम भएन । उल्टै होटलमा बस्दाबस्दै ३–४ हजार रुपैयाँ खर्च भयो’, नाम नबताउने सर्तमा एक स्थानीय व्यापारीले भने । 


पालिका सदरमुकाममा बैँक भएर पनि नभएजस्तै भएको अर्का स्थानीय रवीन्द्र थापा बताउँछन् । ‘बैंकमा घन्टौँ लाइन लाग्नुपर्छ’, उनले भने, ‘लाइन लाग्दालाग्दै कहिले नेट गयो भन्छन्, कहिले क्यास छैन भन्छन् । दैलेख सदरमुकाम र सुर्खेत धाउन कम भएको छैन ।’


प्रधानमन्त्री स्वरोजगारको रकम बैंकले कति महिनामा रकम दिन्छ होला ? एउटै मानिस बैंकमा १० दिन जाँदा पनि रित्तो हात आएको छ भन्दै सामाजिक सञ्जाल फेसबुकमा गुनासा आइरहेका छन् । योजनाको पैसा भुक्तानी लिन सदरमुकाम पुगेका स्थानीयलाई पैसा घरसम्म कसरी लैजाने भन्ने चिन्ता बढ्दो छ । सुुरक्षाको चुुनौती देखिएकाले लुटपाटमा पर्ने चिन्ता उनीहरूलाई परेको हो । 


ढिलोचाँडो भए पनि काम गरिरहेको एनसिसी बैंक ठाटीकाँध शाखाका कर्मचारी दिनेश शाही बताउँछन् । उनले भने, ‘हामी सेवाग्राहीलाई सेवा दिने हो । कहिलेकाहीँ ढिलोचाँडो हुन्छ । त्यो पनि नेटका कारणले हो । हामीले गरेको होइन ।’