close

गुणस्तरहीन काम, ३० दिनमा ३० लाख स्वाहा (भिडियो खबर)

गुणस्तरहीन काम, ३० दिनमा ३० लाख स्वाहा (भिडियो खबर)

ADVERTISEMENT

कञ्चनपुर- निर्माण व्यवसायी नै भन्ने गर्छन् कि निर्माण गरिएको संरचनाको गुणस्तरीयता बाढी र वर्षायाममा देखिन्छ । हुन पनि हो, अधिकांश संरचनाको गुणस्तरीयताको लेखाजोखा वर्षामासमा देखिन्छ । केही समयअघि उदयपुरको त्रियुगा नदीमाथिको पुल भासियो र बगायो ।

 

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा गुणस्तरहीन काम गर्दा नै यो समस्या निम्तिएको हो । यस्तै, कमसल कामको परिणाम कञ्चनपुरको बेदकोट नगरपालिकामा पनि देखिएको छ । सांसद विकास कोषको ३० लाख रकमबाट बनेको सडक वर्षासँगै आएको भलले बगाएको छ ।

 

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १ र २ जोड्ने हात्तीथला देखि मुक्ती जाने बाटो वर्षासँगै आएको भेलले बगाएको छ । हात्तीथला देखि मुक्ती जाने बाटो स्तरउन्न्ती गर्न भनि सुदूरपश्चिम प्रदेशका सांसद नर बहादुर धामीको सांंसद विकास कोषको ३० लाखमा बनको २.१ किलोमिटर सडक एक महिना पनि नबित्दै बगाएको छ ।

 

 कल्भर्ट हाल्ने ठाउँमा ग्राभेल हालेर सडक बनाउँदा बाटो बगाएको स्थानीयको आरोप छ । एक महिनामै पानीले सडक बगाएपछि अहिले स्थानीयलाई गाउँ र बजारसम्म पुग्न कठिन भएको छ । पानीले सडक नै बगाएपछि अहिले बाटोबाट दुई पाँग्रे र ४ पाँग्रे सवारी साधन जान सकिरहेका छैनन् ।


सडकलाई पानी पिच गरेपछि राम्रो सँग रोलर लगाएर दबाउनुपर्छ । त्यसमाथि पनि सडकको डेनिसिटी नाप जाँच गर्नु पर्ने हुन्छ । तर, यो सडक एक महिनामै बगायो । मालवाहक गाडी आउँदा सडक दबिने भएकाले पनि बगाएकाले तुरुन्त पुनर्निर्माण गर्नुपर्ने माग स्थानीयको छ । 


स्थानीयले सडक निर्माण गर्दा उपभोक्ता समितिले किर्ते हस्ताक्षर गरेर काम गरेको आरोप लगाएका छन् । यता, बजेट विनियोजन गरेका सांसद धामी भने कामको गुणस्तरीयता मापन गर्ने काम स्थानीय तहको भएकाले यसमा व्यक्तिगत रूपमा अनुगमन गर्नु नपर्ने बताउँछन् । उनले स्थानीय सरकारलाई घचघच्याउन नसक्दा परिणामतः सडक कमसल निर्माण हुन पुग्यो । 


गुणस्तरहीन सडक निर्माण गरेको विषयमा उपभोक्ता समिति र स्थानीय सरकारले भने कुनै प्रतिक्रिया दिएका छैनन् । सायद, आफूले गरेको गल्ती बाहिरिएपछि उनीहरू आरोपको खण्डन पनि गर्न सकिरहेका छैनन् भने समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाउन सकेका छैनन् । यसरी गरिने कमसल काम गर्नेबाट नागरिकले अरु के अपेक्षा गर्ने प्रश्न तेर्सिएको छ ।