close

विषाक्त मदिरा सेवनले ४ जनाको अकालमा गयो ज्यान...

‘पैसा आउने बेला मृत्युको खबर’

विषाक्त मदिरा सेवनले ४ जनाको अकालमा गयो ज्यान...

‘पैसा आउने बेला मृत्युको खबर’

Trulli
ADVERTISEMENT

बागलुङ– ३० वर्षीय प्रवीण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रवीणले केही समय घरमै बिताए । 

 

बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा रोल्पाबाहिरका जिल्लामा निस्केका प्रवीण वैशाखदेखि भएको निषेधाज्ञामा घरमै थिए । केही समय घरमा बसेपछि बागलुङको गलकोटमा काम चलेको खबर आयो ।

 

गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा एक घर एक धारा परियोजनामा काम गर्न निर्माण कम्पनीका मालिकले बोलाएपछि प्रवीण गाउँका अरू युवासँगै गलकोट आए ।

 

गलकोट आएको एक महिना नबित्दै प्रवीण आफैंले पिएको मदिरा र खाना विष बनेपछि अब रोल्पा नफर्किने गरी अस्ताएका छन् । प्रवीणसँगै खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरले मदिरा पिएकै कारण मंगलबार बिहान ज्यान गुमाएका छन् । 

 

मृत्यु हुने रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय प्रवीण घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना रहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । 

 

आयोजनामा काम गर्ने १३ जना मजदुर थिए । मदिरा पिएका २ जना गम्भीर बिरामी छन् । उनीहरूलाई धौलागिरि अस्पतालमा सघन उपचार कक्ष खाली नभएकाले गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

 

‘अस्तिसम्म सबै यहीँ थिए । ठेकेदारले काममा बोलायो भनेर हिँडेका हुन्,’ सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नमराज थापाले भने, ‘घरमा दुःख भएकै कारण मजदुरीमा गएका हुन् । पैसा आउने बेला हुँदा मृत्युको खबर आयो ।’ 

 

खाना खाएलगत्तै बिरामी परेका उनीहरूको गलकोटमा रहेको इमर्जेन्सी पोलिक्लिनिकमा उपचार भएको थियो । सामान्य उपचारपछि राती नै धौलागिरि अस्पतालमा ल्याइएको थियो । अस्पताल आइपुग्दा बिहान साढे ४ बजे उनीहरूको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । 

 

मृतकसँगै मदिरा सेवन गरेका २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती गम्भीर बिरामी छन् । मृतक रेखबहादुर राना र दुधबहादुर राना नजिकैका नातेदार हुन् ।

 

‘रेखबहादुर राइँलो बा हो, उसका जेठा दाजुको छोरा दुधबहादुर हो,’ वडाध्यक्ष थापाले भने, ‘दुई भाइ छोरा छुट्टीभिन्न भएपछि खर्च चलाउन कठिन भयो भनेर दाइको छोरा लिएर रेखबहादुर मजदुरीमा निस्केका थियो ।’ मृतक देवेन्द्र पुनको १ वर्षको नाबालक छोरा रहेको थापाले बताए । 

 

घटना अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन
 

 

मदिरा वा मदिरासँगै अन्य खानेकुरामा विषाक्त परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान गर्न प्रनाउ इकवाल हवारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

 

प्रहरीले पसल सञ्चालक भद्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ । ती मजदुरले यसअघि पनि उक्त पसलमा नियमित मदिरा सेवन गर्थे । मृतक र बिरामीको रगतमा विषाक्त पदार्थ भेटिएको धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

 

‘रगतको विषादी सफा गर्न डायलासिस गरियो । आइसियु नभएकाले पोखरा पठाइएको हो,’ डा. पोखरेलले भने । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै कुन प्रकारको विषाक्त प्रयोग भएको भन्ने यकिन गर्न सकिने पोखरेलले बताए । 

 

मृतकको शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ । परिवारका सदस्य गाउँबाट हिँडिसकेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए । ‘परिवारका सदस्यसँगै वडा सदस्य पठाएका छौँ । घटनाको विषयमा सबै अनुसन्धान भएपछि मात्रै रिपोर्टका आधारमा दाहसंस्कार हुन्छ,’ घर्तीले भने ।